(१) पूजागर्ने
थान सफा गरी लिपघस गरी नयाँ रातो लुगा दुई हात लामो बिछाई दुई वटा लोहोटा भरिभरि
पानी र फूलसमेत राखी धूप जलाउनू। बाती बाल्नू। शास्त्र खोली फूल चढाई धूपधुवाँरले
पवित्र गराई पढ्न सुरु गर्नू।
(२) ओत्,
सर्वव्यापी
परमात्मा तागेरा निङ्वाफु माङ नमस्कार छ। पृथ्वीको मालिक्नी नमस्कार। आकाशको
मालिक्नी नमस्कार। झारजङ्गलको मालिक्नी नमस्कार। पशुपक्षी, कीटपतङ्गको मालिक्नी नमस्कार। नदीका
माछाहरूको मालिक्नी नमस्कार। मानिस जातिको मालिक्नी नमस्कार। सूर्यदेवको मालिक्नी
नमस्कार। चन्द्रदेवको मालिक्नी नमस्कार। हावाको मालिक्नी नमस्कार। आँधिको मालिक्नी
नमस्कार। सृष्टिको मालिक्नी नमस्कार। सृष्टि सुहाओस् भनी मानिस जातिको सृजना
गर्नुभयो। मानिस सुहाओस् भनी पशुपक्षी सृजना गर्नुभयो।
(३) मानिस
र पशुपक्षी नखाई, नपिई
बाँच्दैनन् भनी अन्नपानी बनाई दिनुभयो। खानपिउन सिकाइदिनुभयो। खानेपिउने पेटपाला
गर्ने विवेकबुद्धि दिनुभयो। तसर्थ काम गर्नु, खानुपिउनु भनी हामीहरूले जङ्गल फाँडी,
पर्खाल लगाई,
भस्मे जलाई,
खोरिया
खनिखोर्स्री बारी बनाई अन्नबाली लगायौँ। अब दुःख गरेर घस्रँदै―घस्रँदै तपाइँको शरण पर्न, पाउ पक्रन, बिन्ती बिस्तार गर्न आएका छौँ।
सेवाभक्ति गर्दै श्रद्धासाथ बिन्ती गर्दैछौँ। यो अन्नबाली लगाएकोमा बेलैमा घाम,
पानी, हावा दिनुहोस्। लगाएको बाली समयमा
उम्रने, बढ्ने
र पाक्ने गराउनुहोस्। आशिष दिनुहोस्, फलिफाप गराइदिनुहोस्।
(४) हामी
मानिस जाति तपाइँकै सृष्टि हौँ। तपाइँकै रूप हौँ। तपाइँकै वचन हौँ। तपाइँकै बच्चा
हौँ। राम्रो आशिष दिनुहोस्। राम्रो भाग्य दिनुहोस्। उन्नति गराइदिनुहोस्। हाम्रो
रङ्गरूप बल्दो बनाउनुहोस्। हामीहरूको शरीर र आत्माको रक्षा गर्नुहोेस्। हामीले
चढाएको बिन्ती र सौगात ग्रहण गर्नुहोस्। ओत् पिता, ओत् माता, तपाइँकै सानुनानी हामीहरूकोे राम्रो
रक्षा गर्नुहोस्। भूत, प्रेत,
पिशाच
सैतानहरूको पञ्जाबाट जोगाइराख्नुहोस्। दिनदिन, महिनामहिना, वर्षवर्ष, असल गरी रक्षा गर्नुहोस्, जोगाउनुहोस्, बचाउनुहोस्। ओत्, सर्वव्यापी परमात्मा तागेरा निङ्वाफु।
यो पूजा―श्रद्धापट्टि
तपाइँको चेहरा फर्काइदिनुहोेस्। यो बिन्ती―बिस्तारपट्टि तपाइँको कान फर्काइदिनुहोस्।
ओत्, परमात्मा निङ्वाफु माङ नमस्कार छ।
No comments:
Post a Comment