(१) आफ्नो देश तथा वंशको सुधार गर्नलाई, सभ्यता ल्याउनलाई मानिस जातिले सर्वप्रथम ज्ञानबुद्धिको खोजी गर्नुपर्छ। ज्ञानबुद्धि छैन भने मानिसमा घम48ड आउँछ। अहङ्कार बढ्छ। आफ्नो शक्तिमा मात्र भरपरी दगुर्ने हुँदा आफ्नै नोक्सान हुन्छ। आफ्नो नोक्सान हुन लागेपछि आफूमा भएको ज्ञानबुद्धि पनि हराउँछ। ज्ञानबुद्धि हराइसकेपछि गाउँ, देश, सृष्टि सबै अन्धकारमय हुन्छन्। तसर्थ मानिस जातिले ज्ञानबुद्धि खोजेन भने तिनीहरू अन्धकारमा डुबी नष्ट हुन्छन्।
(२) उज्यालो आत्मा निङ्वाफुमा त ज्ञानबुद्धि हो। अँध्यारो आत्मा भनेको अज्ञान तथा मूर्खता हो। ज्ञानबुद्धिको जड नै ओत्, सर्वव्यापी परमात्मा तागेरा निङ्वाफुमा हो। ज्ञानबुद्धिबाट शक्ति प्रकट हुन्छ।
(३) ताम्फुङ्साम् भनेको अँध्यारो आत्मा हो। ताम्फुङ्ना भनेको ज्ञानबुद्धिरहित आत्मा भनेको हो। जङ्गली अनुहार भनेको को हो। ताम्फुङ्नाले मानिस जातिलाई अधबेस्रो मूर्ख तुल्याउँछ। ताम्फुङ् साम्माङ्ले, मानिस जातिलाई अँध्यारो जङ्गलमा राख्छ। उसले कहिल्यै पनि ज्ञानबुद्धि दिन सक्तैन।
(४) उज्यालो आत्माले उज्यालो दिन्छ। उज्यालो आए अँध्यारो आफै भाग्छ। सभ्यता आए असभ्यता हराई जान्छ। मानिस जातिलाई नष्ट गर्ने आत्मा नै ताम्फुङ्ना अर्थात्् अज्ञानको आत्मा हो।
(५) अघि थालनीमा अँध्यारो―अँध्यारो मात्र थियो। सुन्सान थियो। केही पनि थिएन। सृष्टिकर्ता आगोको ज्वालाको उज्यालोमा प्रकट भयो। शक्तिमान् आत्मा नै त्यो उज्यालो हो। युमासाम् भनेको नै त्यो उज्यालो हो।
(६) त्यो युमासामले उँधो―उँभो भुवनहरू देख्यो। सर्वव्यापी परमात्मा तागेरा निङ्वाफुमाको शक्तिको नाउँ नै युमासाम् हो। ज्ञानको खानी परमात्माको शक्ति युमासाम्ले केही पनि नभएको अँध्यारो र सुन्सान भएका ठाउँमा उज्यालो प्रकट गरायो।
(७) परमात्मा निङ्वाफुमा ज्ञानको खानीको आँखाले अँध्यारो देख्यो। मन पराएन र उज्यालो बनायो। राम्रो, सुन्दर सृष्टि गर्ने इच्छा गर्यो र सृष्टिको रचना गर्यो। त्यस्तै मानिस जातिले पनि आफ्नो आँखा उघारेर अँध्यारो जङ्गलको आत्माले के―के गर्दैछ हेर्नुपर्छ, बुझ्नुपर्छ र राम्रो असल काम गर्नुपर्छ तर बुझ्ने शक्ति छैनभने राम्रो कुरा नै बुझ्न सक्तैन। तसर्थ मानिस जातिले उज्यालो आत्मा युमा साम्माङ्, परमात्मा निङ्वाफुमालाई हृदय दिएर विश्वास गर्नू, सेवाभक्ति गर्नू तथा कुरा बुझ्ने शक्ति माग्नू। ज्ञानबुद्धि माग्नू। ज्ञानबुद्धि खोजिबसे स्वयम् आउनेछ। ज्ञानबुद्धि आएपछि उज्यालो सभ्यता आउँछ तथा देश, वंशबाट ज्योति निस्किएर चारैदिशा चम्किन्छ।
(८) देश र वंशमा सुसभ्यता आइसकेपछि देशभित्र चोर्ने, लुट्ने, लोभ गर्ने, लडाइँ, झगडा गर्ने तथा खुन बगाउने कुरा नै उठ्तैन। ओत्, सर्वव्यापी परमात्मा तागेरा निङ्वाफुमा उज्यालो युमासाम्को डर मानी उनैको भक्तिमा लागी बस्छन्। त्यो शक्तिमान आत्माको रङ्ग, रूप नभए तापनि उसमा बुझ्ने शक्ति, बोल्ने शक्ति बिचार्ने शक्ति, हेर्ने शक्ति, सुन्ने शक्ति, निया गर्ने शक्ति, बनाउने शक्ति, बिगार्ने शक्ति औ जहाँ जहिले चितायो झट्टै आउने शक्ति तथा प्रकट हुने शक्ति भएकाले उनले सबैलाई सदा प्रेम गर्छन्। उनको भक्ति गर्नेहरूलाई दया र अनुग्रह गर्छन्। मानिसले गर्नुपर्ने कर्तव्य गरिनै बस्नु। उनले आफैले त्यसको निया गर्नेछन्। राम्रो कामको राम्रै दाम हुन्छ नराम्रो कामको नराम्रै दाम हुन्छ।
(९) सन्त कान्देन हाङको मृत्यु भएर धेरै वर्षपछि सिन्युक देशमा लिपाङ् हाङ राजा भए।
(१०) उसले आफ्ना प्रजाहरूमा विद्या प्रचार गरे। पुराना―पुराना पुतकहरू खोजतलास गरी फेरि राम्रो ढङ्गले लेखे। सन्त कान्देन हाङले लेखिराखेको युमाधर्मका शास्त्रहरू पुनः खोजतलास गरी युमाधर्म मान्न सिकाए।
(११) यी राजाको मृत्युपछि सिन्युक (चीन) देशमा उनैका रानी सुयेन् नोसुनु हाङमाले महारानी भई देशको शासन चलाइन्।
(१२) उनले राजसभा गरिन्। लडाइँंका सरदारहरूलाई भनिन्। सिन्युक् देश बढाउनू। आफ्ना आफ्ना फौज उठाई पूर्व, पश्चिम, उत्तर, दक्षिणका देशहरू आक्रमण गरी विजय प्राप्त गरी राज्यशासन चलाउनु।
(१३) सिन्युक महारानीका नामले युमाधर्म सिकाउनु भनी हुकुम् गरिन्।
(१४) सिन्युक देशकी महारानी सुयेन नोसुनु हाङमाको हुकुम सुनेर लडाइँंका सरदारहरूले आफ्नो आफ्नोे पल्टन लिएर पूर्व, पश्चिम, उत्तर, दक्षिण दिशातर्फ लडाइँ गर्दै गए।
(१५) दक्षिण―पश्चिम दिशापट्टि भएका देश आक्रमण गर्ने लडाइँंका सरदारको नाउँ सुवाङ् हाङबा थियो। उसले सुचुवाङ् मुनाखाम्ना देश आक्रमण गरी विजय प्राप्त गर्यो। उसको छोरो मुनाफेन् हाङले होरुदेश आक्रमण गरी विजय गर्यो औ वहाँका मानिसहरूलाई युमाधर्म सिकायो। ऊ मुक्केगुबा नाउँले प्रसिद्ध भयो।
No comments:
Post a Comment