Tuesday, May 24, 2016

वेदो राजाको कथा (ईमानसिं चेम्जोङ लिखित)

(१) माबो हाङ वंशमा पछिपछि एउटा धर्मी राजा निक्ल्ले। उनको नाउँ मुदा हाङ थियो तर उनका कोखमा कुनै छोराछोरी थिएनन्। उनी राजा भएकै साल आदिवासीहरूले बिद्रोह मचाए। मुदा हाङ राजाले ती विद्रोहीहरूसँग साह्रै लड्नुपर्‍यो।

(२) उनले सर्वव्यापी परमात्मा तागेरा निङ्वाफुमाको श्रद्धा र भक्तिसाथ प्रार्थना गरी लडाइँंमा जय प्राप्त गराउने शक्तिमान आत्माको माग गर्‍यो।

(३) एकदिन उनकी रानीका सामुन्ने यौटा विचित्रको मानिस आई भन्यो। तिम्रो कोखमा छोरा छैन भनी चित्त दुखाउनु पर्दैन। तिम्रो गर्भमा बच्चा हुन्छ। धर्म चिताई, नुहाई धोई परमात्मा निङ्वाफुमाको भक्ति गर्दै विश्वास गर्नु। तिम्रो कोखमा यौटा सुपुत्रको जन्म हुन्छ। उनी गर्भभित्रैदेखि देवाभिषेक भएका हुन्छन्। बालककालदेखि उसको केश काट्नु हुँदैन। तिमीले पनि जाँडरक्सी पिउनु हुँदैन। पछि जवान भएर उसले उसको शत्रुहरूसँग लडी दुस्मन दमन गर्नेछ, लडाइँ जित्नेछ। यति भनेर त्यो मानिस रानीकै सामुन्ने अल्पियो।

(४) रानी छक्क परिन् र राजालाई भनिन्। अघि देवरूपजस्तो मानिस मेरो सामुन्ने खडा भई यसो भन्यो। हाम्रो कोखमा छोरा हुने रे। मैले जाँडरक्सी नपिउनु रे। बालकको केश नकाट्नु रे। जवान भई उसले दुस्मन दमन गर्छ रे। यति भनी मेरै सामुन्ने अल्पियो। उसको रङ्गरूप देवरूपजस्तो भएकाले उसलाई केही सोधपुछ गर्न आँट पुगेन।

(५) यो कुरा सुनी मुदा हाङ राजाको हृदय आनन्दले भरियो र परमात्मा निङ्वाफुमाको भक्ति गरिकन भन्यो। हे परमात्मा निङ्वाफु माङ! अस्ति पठाउनु भएको मानिस फेरि एक फेरा मेरो सामुन्ने पठाई बक्सियोस्। बालक भएपछि केके गर्नुपर्ने हो, मलाई सिकाइ बक्सियोस्, यसपछि मुदा हाङ राजाले सपना देख्यो।

(६) सपनामा त्यही मानिस आई मुदा हाङ राजालाई भन्यो। अस्तिका दिन म तिम्री रानीका सामुन्ने आई भनिसकेको छु। तिमीहरूका कोखमा यौटा छोरा हुन्छ। रानीले जाँडरक्सी पिउनु हुँदैन। मन पवित्र राख्नुपर्छ। बालककालदेखि केटाको केश काट्नु हुँदैन। जवान भएपछि उसले दुस्मनसँग युद्ध गरी विजय प्राप्त गर्नेछ।

(७) त्यो देवाभिषेक भएको केटो साह्रै प्रतापी निक्लनेछ। धर्म चिताएर बस्नु। यति बात भइसकेपछि मुदा हाङ निन्द्राबाट जाग्यो। उसको हृदय आनन्दले प्रफुल्लित भई परमात्मा निङ्वाफुमाको नाउँमा साःङ्भे (बेदी) बनाई धन्यवादको पूजा गर्‍यो।

(८) पछि मुदा हाङको एक छोरा भयो। उसको नाउँ वेदो हाङ राखे। त्यो देवाभिषेक भएको बालक सानैदेखि बाठो, चङ्ख र प्रतापी थियो। बालककालदेखि उसलाई जाँडरक्सी केही पनि पिउन दिएनन्। केश पनि काटिदिएनन्। ऊ जवान भएपछि महाप्रतापी भयो। आफ्नो पिताको मृत्युपछि वेदो हाङ हेल्लाङ गढको राजा भयो।

(९) तर आदिवासीहरूले साह्रै डाही गरेर तीन हजार मानिसहरू ल्याई हेल्लाङ गढ घेरा हाले। वेदो हाङका तीन सय सिपाहीहरू हेल्लाङ गढमा तैयार थिए। भयङ्कर काटमार चल्यो। वेदो हाङ एक्लैले आदिवासीहरू जम्मा तीन सय मारी दियो। बाँकी उसका सिपाहीहरूले मारी भगाए।

(१०) पछि उसका शत्रुहरूले वेदो हाङलाई मार्न षडयन्त्र गरे। उनीहरूले आफ्नी यौटी चेली वेदो हाङ राजालाई विवाह दान गरी ऊमार्फत वेदो राजाको शक्ति कसरी आउँछ, कसरी जान्छ, खोज्ने र पत्ता लागेपछि वेदो राजाको ज्यान लिने षडयन्त्र गरे। तसर्थ तिनीहरूले यौटी सुन्दरी युवती छानी, ल्याई हेल्लाङ गढकी रानी हुनलाई चढाए। वेदो राजाले पनि उसको सुन्दरता देखी रानी बनाउन ग्रहण गरे।

(११) रानीको नाउँ तालिमा थियो। राजालाई मार्न यस्तो षडयन्त्र गरेको वेदो हाङलाई पत्ता भएन।

(१२) एकदिन वेदो हाङ राजाका सालाहरू हेल्लाङ गढ आई तालिमा रानीलाई भने। वेदो हाङ हामीहरूको राजा भएको छ र पनि ऊ हाम्रो शत्रु हो। उसको शक्ति कहाँबाट आउँछ, कसरी जान्छ राम्ररी बुझेर हामीहरूलाई भन्नु। हैनभने तिमीलाई मार्नेछौँ भनी धम्की दिए। तालिमा रानी डराई। उनीहरूको कुरा मान्न कर लाग्यो। उसले वेदो राजाको दिल खोजिन् तर पाइनन्।

(१३) एकदिन वेदो राजा हेल्लाङ गढमा विश्राम गरिरहेको थियो। तालिमा रानी रुँदैरुँदै वेदो राजाका छेऊ आई भनिन्। हजुरचाहिँ इत्री बस्नुहुन्छ। हजुरका शत्रुहरू धेरै छन्। तिनीहरू सबैले हमला गरे, हजुरलाई विजय गरे मेरो के गति हुने हो। तसर्थ साँचो भनी बक्सियोस्। म पनि हजुरको शक्ति लुकाउने प्रयत्न गर्नेछु।

(१४) वेदो हाङले एउटा केराको बोट देखाई भने। त्यो केराको बोट काटिएपछि मेरो शक्ति जान्छ। तालिमा रानीले यो कुरा विश्वास मानी उसका माइतीहरूलाई भनी दिई। एक रात ती दुस्मनहरू आई चुपचाप केराको बोट काटी हेल्लाङ गढका राजा वेदो हाङ मार्न भनी गढमा हमला गरे। भयङ्कर लडाइँं भयो। वेदो राजाको शक्ति जागी सारा दुस्मनहरू मारी भगाइए।

(१५) अर्को दिन तालिमा रानीले वेदो राजालाई फकाई मन खोजी। राजाले भने म निदाएको बेला ठुलो लहराले मेरो हातखुट्टा बाँधी दिएपछि मेरो शक्ति हराउँछ। 

(१६) एकरात राजा निदाएको बखत दुस्मनहरू आई राजाका हातखुट्टा लहराले बाँधे। राजा झट्टै जागेर जोडसँग बल गरी हातपाउको लहरा चुडाई सब दुस्मनहरू मारे।

(१७) फेरि एक फेरा वेदो हाङ आफ्नो विश्राम गर्ने स्थानमा विश्राम गरिरहेको थियो। तालिमा रानीले फकाईफकाई शक्ति आउनेजाने मुन्धुम कथा सुन्न मागी। त्यसबेला राजाले सारा गुप्त कुराहरू खोली कन भनिदियो। उसले भन्यो। बालककालदेखि मेरो केश काटेको छैन। काट्नासाथ नाभिमा गोपे बाँसको भालाले घोच्यो भने मेरो शक्तिमान आत्मा निक्ली जान्छ। म केही पनि गर्न सक्तिन। यी सबै कुराहरू तालिमा रानीले उसका माइतीहरूलाई भनिदिई।

(१८) एकरात वेदो राजा निदाएको मौका पारी उसका दुस्मनहरू आई छुरीले वेदो राजाको केश काटी दिए। तालिमा रानीले उठाउँदा पनि वेदो राजा उठ्नै सकेनन् उसको शक्ति घट्यो।

(१९) उसका दुस्मनहरूले गोपे बाँसको भाला बनाई उसको नाइटोमा घोचे। वेदो राजाको शक्तिमान आत्मा निक्लेर गयो। वेदो राजा मर्‍यो।

(२०) आदिवासी खाम्बोङ्बाहरू रमाए। हर्क बडाइँ गरे। महासभा गरी आदिवासीहरूकै राजा निर्वाचन गरी हेल्लाङ गढमा राखे।

(२१) तालिमा रानीलाई भने कि छोरा जन्मिए हामीलाई खबर गर्नु, मार्नेछौँ। छोरी जन्मिए खबर गर्नुपर्दैन। त्यस दिनदेखि तालिमा रानी चेम्फुजङ गढमा गई बसीे। पछि उसका कोखमा छोरा जन्म्यो तर तालिमा रानीले छोरा मारिदिन्छन् भनी डरले छोरी जन्मी भनी खबर गरी। उनीहरूले पनि छोरी भयो भनेको सुनी मार्ने कोसिस गरेनन्। तालिमा रानीले पुत्रलार्ई छोरीकै पोसाक लगाई पालनपोसन गरी।

(२२) पछि तन्नेरी भएर जुँगादारी उम्य्रोे तर उसकी आमाले छोरालाई छोरीको भेषमा बस्नुपर्छ नत्र पिताका दुस्मनले मार्छन् भनी अर्ती दिइन्। तसर्थ उसले पनि आफ्ना जुँगादारी उखेली तरुणीका रूपमा बस्यो। औ आफ्नो पिताको पूर्वकथा सब अध्ययन गर्‍यो अनि पिताका अनुचरवर्ग जो सिन्युक्पा र मुदेम्बा (चिनियाँ र तिब्बती)हरू मात्र थिए, तिनीहरूका गाउँमा गई सभा गर्न सुरु गर्‍यो। पुरानै राजासँग फेरि युद्ध गर्न सल्लाह गर्न लाग्यो। उसका पिताका योद्धाहरूले पनि लड्ने भनी प्रोत्साहन दिए।

(२३) तर उसले अर्कै उपाय गर्‍यो। पुरानो राजाका छोरासँग विवाह गर्ने कुरा चलायो। पुरानो राजाका छोराले पनि रूपधारी यो केटीसँग विवाह गर्न मन गर्‍यो। विवाहका अघि उसले आफ्ना पिताका योद्धाहरूका गाउँमा गई फेरि सल्लाह गर्‍यो। उसले भन्योविवाहको तीन दिनअघि आधारात नाघेपछि सबै योद्धाहरूले आफ्नो आफ्नो ढाल, तरबार, भाला, काँडधनु जम्मै पुरानो राजाको दरबारकै नजिक लुकाई राख्नु। विवाहको रात लगन भएपछि सबैले लुकाइराखेको हतियार झकी सारा खाम्बोङ्बाहरूलाई बेउजुर काटी मारिदिनु। उसको यस्तो सल्लाह सबै योद्धाहरूले स्वीकार गरी आफ्नो आफ्नो हतियार लगी पुरानो राजाका दरबार छेऊ लुकाई राखे।

(२४) विवाहको दिन सबै योद्धाहरू जन्ती भई पुरानो राजाका दरबारमा गए।

(२५) आधारातको अघिबाटै विवाहको लगन गर्ने कर्मका48ड सिद्धियो।

(२६) त्यसै मौकामा उसका योद्धाहरूले लुकाइराखेका युद्ध सामग्री सबै झकी पुरानो राजाका दरबारमा घेरा दिई खाम्बोङ्बाहरू धेरै मारिदिए। तरुणी भेषधारी बेहुलीले पनि आफ्नो पिताको ढालतरबारले खुब लडी। पुरानो राजवंशकाहरू सबै खतम भए।


(२७) त्यसपछि उसका पिताका अनुचरवर्ग सब जम्मा भई तरुणी भेषधारी मानिसलाई आफ्नो राजा बनाए तर उसको पुरुष नाउँ थिएन। तसर्थ उसका योद्धाहरूले उसलाई यो चेम्फुजङ गढबाट भएको भनी उसलाई चेम्जङ हाङ भनी नाउँ राखिदिए। 

No comments:

Post a Comment