Tuesday, May 24, 2016

भक्ति प्रार्थना (ईमानसिं चेम्जोङ लिखित)

खानेपिउने बेलाको प्रार्थना

ओत्, अन्नपानीको मालिक नमस्कार छ। प्राण राख्नलाई तपाइँले मलाई यो खाने, पिउने चिज दिएकोमा तपाइँलाई अर्चना गरिरहेछु। खाने, पिउने चिज सबै शुद्ध पारिदिनुहोस्। बोलीवचन सबै शुद्ध पारिदिनुहोस्। ज्ञानबुद्धि शुद्ध पारिदिनुहोस्। इष्टमित्र, शाखासन्तान सबै शुद्ध दिलको बनाइदिनुहोस्। खानेलाउने सधैँ पुग्ने आशिष दिनुहोस्। ओत्, सिद्धनामलाई नमस्कार छ।

बेलुकाको प्रार्थना

(१) ओत्, निङ्वाफुमा ईश्वरलाई नमस्कार छ। अग्निबाट सूर्य तथा चन्द्रमाको उज्यालो सृजना गरी चन्द्रमाको ज्योति तथा सूर्यको रापमा विराजमान भई चन्द्र सूर्यको द्वार खोल्न तथा बन्द गर्नसक्ने सामर्थ्यले युक्त भएका सृष्टिकर्ता ईश्वर! तपाइँको सामुन्ने तपाइँको सेवाभक्ति गर्न आइपुगेँ। तपाइँको भक्ति गर्दैछु। तपाइँको बायाँ पाउ पक्री दुई हात जोडी तपाइँको सेवाभक्ति गर्दैछु। मलाई ग्रहण गर्नुहोस्।

(२) साँझमा पनि उज्यालो राख्ने। उज्यालो अँध्यारो बनाउने, सर्वसामर्थी निङ्वाफुमा ईश्वरले दिउँसो उज्यालो दिने चम्किलो घामको ज्योतिले उसको सुन्दर रूप अब लुकायो। अँध्यारो भयो। अब पशुपक्षी, कीटपतङ्ग मानिस जाति सबै अलपझैँ नदेखिने भएका छन्। अब आराम गर्नेछन्।

(३) सृजन्हार पिता, सृजन्हार माता। अघि सुरुबाटै आफ्सेआफ् प्रकट भएका परमात्मा युमासाम शक्ति तपाइँले आफ्नो सृष्टिलाई आफ्नै सानु बच्चाजस्तो गरी माया गरेर स्वर्गबाट पवित्र नजरले हेरी रक्षा गर्नुहोस्। बचाउनुहोस्। जोगाई राख्नुहोस्। सपनामा तपाइँको दर्शन दिनुहोस्। बिहान उठेर फेरि तपाइँको भक्ति गर्नेछु। तपाइँको पराक्रमको महिमा प्रकट गर्नुहोस्। तपाइँलाई नमस्कार छ। ओत्, सिद्धनामलाई नमस्कार छ।

इति। 

हिम साम्माङको कथा (ईमानसिं चेम्जोङ लिखित)

(१) जस्तो जूनको ज्योतिले रात सुहाउँछ र घामको ज्योतिले दिन सुहाउँछ, त्यस्तै मानिसको सृष्टिले आकाश पाताल सुहाएको छ। सारा सृष्टि नै सुहाएको छ। मानिसबिना केही पनि सुहाउँदैन भनी भगवान् परमात्मा तागेरा निङ्वाफुमाले मानिस जातिलाई प्यारो गरी उनीहरूलाई पालनपोक्षण गर्न र फुलाई फलाई बढाउनलाई विवेक दिनुभयो।

(२) त्यतिले मात्र हुँदैन भनेर सर्वव्यापी परमात्मा तागेरा निङ्वाफुमाले मानिस वंशलाई रक्षा गर्न र बचाइराख्नुका लागि आशिष दिई खावेसो थाःक्फुत् माङ् नामक आत्मालाई मानिस जातिको घरद्वार रुङ्नु, हेर्नु र राम्रो रक्षा गर्नु भनी खटाई पठाउनुभयो।

(३) सर्वव्यापी परमात्मा तागेरा निङ्वाफुमाको वचन सुनी ग्रहण गरी खावेसो थाःक्फुत् माङ् बुढो मानिसको रूप लिई मानिस जातिको उत्पत्ति स्थानदेखि मानिस जातिका घरघडेरीमा बास बस्छन्। उसको कर्त्तव्य भनेको मानिस जातिलाई फलिफाप गर्नु र असल तरिकाले बचाइराख्नु मात्र हो।

(४) पश्चिम घाम डुब्ने दिशापट्टिबाट मानिस जातिसँग आएर (नेपाल कान्तिपुरका) किराती राजाहरूका दलानमा बस्दा उनीहरूले उसलाई खातिर गरी श्रद्धा गरी धूप जलाई सत्कार गरे। त्यो घरदेवताले पनि यी राजाहरूलाई आशिष दिई भाग्य बढाई उनीहरूको नाउँ सुबास औधी बढाइदिए।

(५) त्यहाँदेखि खावेसो थाःक्फुत् माङ् माझ किरातका किराती (लिम्बू) राजाहरूका दलानमा बस्न जाँदा त्यहाँका राजाहरूले ठुलाठुला सुँगुरका पाठाले पूजा गरी उसको खातिर गरे। उसले पनि वहाँका राजाहरूलाई आशीर्वाद दिई नाउँ सुबास बढाइदिए।

(६) त्यहाँबाट खावेसो थाःक्फुत् माङ् घरदेवता, सगरमाथा, कन्चनजङ्गा पर्वतहरू घुम्दै पल्लो किरातको नेग्रादेनका किराती (लिम्बू) कन्दङ्वा राजाहरूका दलानमा बस्न जाँदा, वहाँका राजाहरूले पनि बडेबडे सुँगुरका पाठा बली गरी उसको खातिर गरे तर त्यो घरदेवता खावेसो थाःक्फुत् माङ्ले सुँगुरको पाठोको मासु सबै खाएको देखेर भूतप्रेत भनी खोर्सानी पोली खोर्सानीको धूप लगाई त्यहाँबाट खेद्ने कोसिस गरे। त्यसै बेला ती खावेसो थाःक्फुत् माङ् बोले। मलाई नखेद।

(७) अब उप्रान्त वाचा बाँधी भन्छु। हामी तिमी मिली मिली खाऊ। तिमीहरूले मेरो नाउँमा सुँगुरको पाठो चढाउनु। मचाहिँ सास मात्र खान्छु, तिमीहरूचाहिँ मासु खानू भनी वाचा गरे।

(८) त्यस दिनदेखि पल्लो किरातमा सुँगुरको पाठोले पूजा गर्न लागे।

(९) अघि यो चलन थिएन। परमात्मा निङ्वाफुमाको सेवा गर्न बिर्सिए।


(१०) तसर्थ ज्ञानी मानिसहरूले आफ्नो ज्ञानबुद्धिले राम्रो विचार गरेर ज्ञानको खानी निङ्वाफुमा ईश्वरलाई मात्र सेवाभक्ति गर्न थाले। 

थेबा साम्माङ मुन्धुम (ईमानसिं चेम्जोङ लिखित)

(१) चीन देशमा हाङवंशी राजाहरूमध्ये लिउ चुवाङ हाङ राजाका पालामा चीनदेश तीन राजाहरूमा बाँडिएको थियो।

(२) पहिलो लिउ चुवाङ, दोस्रो कुवाङ्ती, तेस्रो चुकोली वाङ राजाहरू थिए।

(३) यी हाङवंशी राजाहरू अघिदेखि नै नामी थिए। सभ्यताका शिखरमा थिए र पनि आपस्तमा लडिबस्थे।

(४) कुवाङ्ती राजा लडाइँ गर्नमा साह्रै वीर थिए। तसर्थ उनको मृत्युपछि उनका वंशले उनलाई रणदेवी अथवा बाजेदेउता मान्न लागेका थिए।

(५) त्यही वंशका छोरानातिहरू पछि तिब्बत देश बसाइँ आई मुदेन हाङ नाउँले प्रसिद्ध भए।

(६) मुदेन हाङको खत्रा नाउँ भएको एक पुत्र थियो। खत्राको छोरो कान्धुङ हाङ भयो। उसको छोरो सान्धुङ हाङ, उसको छोरो तिनो हाङ, उसको छोरो नाम्गे(न्) थियो। यो तिनो हाङ आफ्नोे परिवार लिई तिब्बतबाट किरात देशमा बसाइँ आई याङ्वारकमा बस्यो। याङवारकबाट दरम्बा गाउँमा बसाइँ सर्‍यो। वहाँबाट पान्थरको नाङ्गेन गाउँमा बसाइँ सर्‍यो। त्यसबेला त्यस गाउँको चारैपट्टि भयङ्कर वन थियो। बाघ र भालुहरू प्रशस्त थिए।

(७) तिनोहाङको छोरा नाम्गे(न्) एकखेप खोरिया जाँदा बाघसँग कुस्ती पर्‍यो। नाम्गे(न्)ले बाघलाई पक्री पछारेर मार्‍यो। मानिसहरूले उसको सामर्थ्य देखेर त्यस जग्गाको नाउँ नै केबाङदेन राखे।

(८) अब नाम्गे(न्)को छोरो तुम्म्याङसे र उसको छोरो पाधोङ हाङ भयो। पाधोङ हाङका दुई भाइ छोराहरू भए। जेठो चुक्मिबा, कान्छो लात्तिबा नाउँले प्रसिद्ध थिए। यी दुई भाइहरू टुहुरा भए। तिनले साह्रै दुःख पाए।

(९) दुवै भाइले परमात्मा निङ्वाफुमाको भक्ति गरी ज्ञानबुद्धि मागे। परमात्मा तागेरा निङ्वाफुमाले दुवैलाई माया गरी ज्ञानधनले युक्त बनाए। दुवैजना वीर निस्किए।

(१०) दुवैले इधिङ यक (वर्तमान इत्थुङ)मा गढ बनाई बस्नलागे। वृन्दावन थियो। तिनीहरूले गाई गोठ, भैँसी गोठ, भेडा गोठको पूरा बन्दोबस्त गरेका थिए तर त्यस जङ्गलमा बाघ, भालु अत्यन्त बेसी भएकाले ती जङ्गली जनावरहरूले तिनीहरूका गोठका जन्तुहरू धेरै मारिदिए।

(११) चुक्मिबा लात्तिबाले ती जङ्गली जनावरहरू मार्नका निम्ति गौँडागौँडामा पासो थापे तर कुनै पासोमा ती जनावरहरू नपरेको देखी ती दुई भाइहरू छक्क परे दुवै भाइ पासो थापेको हेर्न जाँदा सबै पासो फुक्लेको, बिग्रेको भेटे। कुन कारण यस्तो बिगार भयो भनी प्रत्येक पासो निरीक्षण गर्दा यौटा पासोमा यौटा बुढोे मानिस अड्की रहेको भेटे।

(१२) दुवै भाइले तिमी को हौ? कहाँ बस्ने हौ भनी सोधनी गर्दा बुढाले भनेम तिमीहरूको कुलपितृ देवता हुँ। आकाश, पताल, हावा, सबै ठाउँ घुमी हिँड्ने देवता हुँ। मानिस जातिलाई आशिष दिन आएको हुँ।

(१३) तिमीहरू दुई भाइले घर गएर तुम्पाङ्यक जग्गामा मेरो नाउँमा पूजा गर्ने थान बनाएर माननीय ज्योतिर्मय बाजेदेउताका नाममा धूपबाती ध्वजा गाडी आठतले थान बनाई चोखो पानीको कलसहरू राखी फूलफलेदोले सिङ्गारपटार गरी बासनायुक्त धूप जलाई फलफूल, कन्दमूल र चोखो अछेताले मेरो पूजा गर्नू (तीन दिनसम्म पूजा गर्नू। तीन दिनपछि इष्टमित्रलाई खुवाउनू।) ए, म ता भालाबर्छा भिर्ने देवता हुँ, थारको जुरोका छालाको शिरवस्त्र लगाउने देवता हुँ म, कम्मरमा पटुका बाँध्ने, तागा वस्त्र लगाउने देवता हुँ म, हात पाउले चारैदिशा लम्कन सक्ने देवता हुँ म। (यस्तो कुरा सुनी दुवै भाइले आफ्नो कुल पितृदेव मानी पिठ्यूँमा बोकी घर लानभन्दा खाम्हेत्ला नामक जग्गामा अन्तर्ध्यान भए।)


(१४) त्यसपछि चुक्मिबा लात्तिबा घर गई अघि आदेश भएबमोजिम पूजाको तरखरमा लागे। पहिलो दिन वनमा गई पूजा गरे। दोस्रो दिन घरको ढोकामा पूजा गरे। तेस्रो दिन नारासेमा अर्थात् शान्ति होस् भनी पूजा गरे। पछिपछि तिनीहरूका जिउमा आत्मा चढी तिनीहरूले शक्ति पाए। ढाल तरबार लिएर उडीउडी युद्ध गर्नसक्ने भए। त्यस जङ्गलका बाघ, भालु सबै मारिदिए। नाम्फुन यकमा गढ बनाई गाउँछिमेकमा हुकुम चलाउने राजाहरू भए। उनीहरूको सामर्थ्य बुझी छिमेकका राजाहरूले लडाइँमा मद्दत मागे। पाप्सङ हाङ र इमे हाङ (लाप्चा) राजाहरूलाई युद्धमा मद्दत गरी उनीहरूका बैरीहरू सबै हटाइदिए। जय प्राप्त गराइदिए। इलामका लाप्चा राजाकी छोरी विवाह गरे। ती अरू राजाहरूले बाजेदेवताको शक्ति देखेर यस युद्धमा मद्दत गर्ने रणदेवी रहिछन् भनी थेबासाम अर्थात् बाजेदेवता भनी त्यस आत्माको पूजा गर्न लागे। 

वेदो राजाको कथा (ईमानसिं चेम्जोङ लिखित)

(१) माबो हाङ वंशमा पछिपछि एउटा धर्मी राजा निक्ल्ले। उनको नाउँ मुदा हाङ थियो तर उनका कोखमा कुनै छोराछोरी थिएनन्। उनी राजा भएकै साल आदिवासीहरूले बिद्रोह मचाए। मुदा हाङ राजाले ती विद्रोहीहरूसँग साह्रै लड्नुपर्‍यो।

(२) उनले सर्वव्यापी परमात्मा तागेरा निङ्वाफुमाको श्रद्धा र भक्तिसाथ प्रार्थना गरी लडाइँंमा जय प्राप्त गराउने शक्तिमान आत्माको माग गर्‍यो।

(३) एकदिन उनकी रानीका सामुन्ने यौटा विचित्रको मानिस आई भन्यो। तिम्रो कोखमा छोरा छैन भनी चित्त दुखाउनु पर्दैन। तिम्रो गर्भमा बच्चा हुन्छ। धर्म चिताई, नुहाई धोई परमात्मा निङ्वाफुमाको भक्ति गर्दै विश्वास गर्नु। तिम्रो कोखमा यौटा सुपुत्रको जन्म हुन्छ। उनी गर्भभित्रैदेखि देवाभिषेक भएका हुन्छन्। बालककालदेखि उसको केश काट्नु हुँदैन। तिमीले पनि जाँडरक्सी पिउनु हुँदैन। पछि जवान भएर उसले उसको शत्रुहरूसँग लडी दुस्मन दमन गर्नेछ, लडाइँ जित्नेछ। यति भनेर त्यो मानिस रानीकै सामुन्ने अल्पियो।

(४) रानी छक्क परिन् र राजालाई भनिन्। अघि देवरूपजस्तो मानिस मेरो सामुन्ने खडा भई यसो भन्यो। हाम्रो कोखमा छोरा हुने रे। मैले जाँडरक्सी नपिउनु रे। बालकको केश नकाट्नु रे। जवान भई उसले दुस्मन दमन गर्छ रे। यति भनी मेरै सामुन्ने अल्पियो। उसको रङ्गरूप देवरूपजस्तो भएकाले उसलाई केही सोधपुछ गर्न आँट पुगेन।

(५) यो कुरा सुनी मुदा हाङ राजाको हृदय आनन्दले भरियो र परमात्मा निङ्वाफुमाको भक्ति गरिकन भन्यो। हे परमात्मा निङ्वाफु माङ! अस्ति पठाउनु भएको मानिस फेरि एक फेरा मेरो सामुन्ने पठाई बक्सियोस्। बालक भएपछि केके गर्नुपर्ने हो, मलाई सिकाइ बक्सियोस्, यसपछि मुदा हाङ राजाले सपना देख्यो।

(६) सपनामा त्यही मानिस आई मुदा हाङ राजालाई भन्यो। अस्तिका दिन म तिम्री रानीका सामुन्ने आई भनिसकेको छु। तिमीहरूका कोखमा यौटा छोरा हुन्छ। रानीले जाँडरक्सी पिउनु हुँदैन। मन पवित्र राख्नुपर्छ। बालककालदेखि केटाको केश काट्नु हुँदैन। जवान भएपछि उसले दुस्मनसँग युद्ध गरी विजय प्राप्त गर्नेछ।

(७) त्यो देवाभिषेक भएको केटो साह्रै प्रतापी निक्लनेछ। धर्म चिताएर बस्नु। यति बात भइसकेपछि मुदा हाङ निन्द्राबाट जाग्यो। उसको हृदय आनन्दले प्रफुल्लित भई परमात्मा निङ्वाफुमाको नाउँमा साःङ्भे (बेदी) बनाई धन्यवादको पूजा गर्‍यो।

(८) पछि मुदा हाङको एक छोरा भयो। उसको नाउँ वेदो हाङ राखे। त्यो देवाभिषेक भएको बालक सानैदेखि बाठो, चङ्ख र प्रतापी थियो। बालककालदेखि उसलाई जाँडरक्सी केही पनि पिउन दिएनन्। केश पनि काटिदिएनन्। ऊ जवान भएपछि महाप्रतापी भयो। आफ्नो पिताको मृत्युपछि वेदो हाङ हेल्लाङ गढको राजा भयो।

(९) तर आदिवासीहरूले साह्रै डाही गरेर तीन हजार मानिसहरू ल्याई हेल्लाङ गढ घेरा हाले। वेदो हाङका तीन सय सिपाहीहरू हेल्लाङ गढमा तैयार थिए। भयङ्कर काटमार चल्यो। वेदो हाङ एक्लैले आदिवासीहरू जम्मा तीन सय मारी दियो। बाँकी उसका सिपाहीहरूले मारी भगाए।

(१०) पछि उसका शत्रुहरूले वेदो हाङलाई मार्न षडयन्त्र गरे। उनीहरूले आफ्नी यौटी चेली वेदो हाङ राजालाई विवाह दान गरी ऊमार्फत वेदो राजाको शक्ति कसरी आउँछ, कसरी जान्छ, खोज्ने र पत्ता लागेपछि वेदो राजाको ज्यान लिने षडयन्त्र गरे। तसर्थ तिनीहरूले यौटी सुन्दरी युवती छानी, ल्याई हेल्लाङ गढकी रानी हुनलाई चढाए। वेदो राजाले पनि उसको सुन्दरता देखी रानी बनाउन ग्रहण गरे।

(११) रानीको नाउँ तालिमा थियो। राजालाई मार्न यस्तो षडयन्त्र गरेको वेदो हाङलाई पत्ता भएन।

(१२) एकदिन वेदो हाङ राजाका सालाहरू हेल्लाङ गढ आई तालिमा रानीलाई भने। वेदो हाङ हामीहरूको राजा भएको छ र पनि ऊ हाम्रो शत्रु हो। उसको शक्ति कहाँबाट आउँछ, कसरी जान्छ राम्ररी बुझेर हामीहरूलाई भन्नु। हैनभने तिमीलाई मार्नेछौँ भनी धम्की दिए। तालिमा रानी डराई। उनीहरूको कुरा मान्न कर लाग्यो। उसले वेदो राजाको दिल खोजिन् तर पाइनन्।

(१३) एकदिन वेदो राजा हेल्लाङ गढमा विश्राम गरिरहेको थियो। तालिमा रानी रुँदैरुँदै वेदो राजाका छेऊ आई भनिन्। हजुरचाहिँ इत्री बस्नुहुन्छ। हजुरका शत्रुहरू धेरै छन्। तिनीहरू सबैले हमला गरे, हजुरलाई विजय गरे मेरो के गति हुने हो। तसर्थ साँचो भनी बक्सियोस्। म पनि हजुरको शक्ति लुकाउने प्रयत्न गर्नेछु।

(१४) वेदो हाङले एउटा केराको बोट देखाई भने। त्यो केराको बोट काटिएपछि मेरो शक्ति जान्छ। तालिमा रानीले यो कुरा विश्वास मानी उसका माइतीहरूलाई भनी दिई। एक रात ती दुस्मनहरू आई चुपचाप केराको बोट काटी हेल्लाङ गढका राजा वेदो हाङ मार्न भनी गढमा हमला गरे। भयङ्कर लडाइँं भयो। वेदो राजाको शक्ति जागी सारा दुस्मनहरू मारी भगाइए।

(१५) अर्को दिन तालिमा रानीले वेदो राजालाई फकाई मन खोजी। राजाले भने म निदाएको बेला ठुलो लहराले मेरो हातखुट्टा बाँधी दिएपछि मेरो शक्ति हराउँछ। 

(१६) एकरात राजा निदाएको बखत दुस्मनहरू आई राजाका हातखुट्टा लहराले बाँधे। राजा झट्टै जागेर जोडसँग बल गरी हातपाउको लहरा चुडाई सब दुस्मनहरू मारे।

(१७) फेरि एक फेरा वेदो हाङ आफ्नो विश्राम गर्ने स्थानमा विश्राम गरिरहेको थियो। तालिमा रानीले फकाईफकाई शक्ति आउनेजाने मुन्धुम कथा सुन्न मागी। त्यसबेला राजाले सारा गुप्त कुराहरू खोली कन भनिदियो। उसले भन्यो। बालककालदेखि मेरो केश काटेको छैन। काट्नासाथ नाभिमा गोपे बाँसको भालाले घोच्यो भने मेरो शक्तिमान आत्मा निक्ली जान्छ। म केही पनि गर्न सक्तिन। यी सबै कुराहरू तालिमा रानीले उसका माइतीहरूलाई भनिदिई।

(१८) एकरात वेदो राजा निदाएको मौका पारी उसका दुस्मनहरू आई छुरीले वेदो राजाको केश काटी दिए। तालिमा रानीले उठाउँदा पनि वेदो राजा उठ्नै सकेनन् उसको शक्ति घट्यो।

(१९) उसका दुस्मनहरूले गोपे बाँसको भाला बनाई उसको नाइटोमा घोचे। वेदो राजाको शक्तिमान आत्मा निक्लेर गयो। वेदो राजा मर्‍यो।

(२०) आदिवासी खाम्बोङ्बाहरू रमाए। हर्क बडाइँ गरे। महासभा गरी आदिवासीहरूकै राजा निर्वाचन गरी हेल्लाङ गढमा राखे।

(२१) तालिमा रानीलाई भने कि छोरा जन्मिए हामीलाई खबर गर्नु, मार्नेछौँ। छोरी जन्मिए खबर गर्नुपर्दैन। त्यस दिनदेखि तालिमा रानी चेम्फुजङ गढमा गई बसीे। पछि उसका कोखमा छोरा जन्म्यो तर तालिमा रानीले छोरा मारिदिन्छन् भनी डरले छोरी जन्मी भनी खबर गरी। उनीहरूले पनि छोरी भयो भनेको सुनी मार्ने कोसिस गरेनन्। तालिमा रानीले पुत्रलार्ई छोरीकै पोसाक लगाई पालनपोसन गरी।

(२२) पछि तन्नेरी भएर जुँगादारी उम्य्रोे तर उसकी आमाले छोरालाई छोरीको भेषमा बस्नुपर्छ नत्र पिताका दुस्मनले मार्छन् भनी अर्ती दिइन्। तसर्थ उसले पनि आफ्ना जुँगादारी उखेली तरुणीका रूपमा बस्यो। औ आफ्नो पिताको पूर्वकथा सब अध्ययन गर्‍यो अनि पिताका अनुचरवर्ग जो सिन्युक्पा र मुदेम्बा (चिनियाँ र तिब्बती)हरू मात्र थिए, तिनीहरूका गाउँमा गई सभा गर्न सुरु गर्‍यो। पुरानै राजासँग फेरि युद्ध गर्न सल्लाह गर्न लाग्यो। उसका पिताका योद्धाहरूले पनि लड्ने भनी प्रोत्साहन दिए।

(२३) तर उसले अर्कै उपाय गर्‍यो। पुरानो राजाका छोरासँग विवाह गर्ने कुरा चलायो। पुरानो राजाका छोराले पनि रूपधारी यो केटीसँग विवाह गर्न मन गर्‍यो। विवाहका अघि उसले आफ्ना पिताका योद्धाहरूका गाउँमा गई फेरि सल्लाह गर्‍यो। उसले भन्योविवाहको तीन दिनअघि आधारात नाघेपछि सबै योद्धाहरूले आफ्नो आफ्नो ढाल, तरबार, भाला, काँडधनु जम्मै पुरानो राजाको दरबारकै नजिक लुकाई राख्नु। विवाहको रात लगन भएपछि सबैले लुकाइराखेको हतियार झकी सारा खाम्बोङ्बाहरूलाई बेउजुर काटी मारिदिनु। उसको यस्तो सल्लाह सबै योद्धाहरूले स्वीकार गरी आफ्नो आफ्नो हतियार लगी पुरानो राजाका दरबार छेऊ लुकाई राखे।

(२४) विवाहको दिन सबै योद्धाहरू जन्ती भई पुरानो राजाका दरबारमा गए।

(२५) आधारातको अघिबाटै विवाहको लगन गर्ने कर्मका48ड सिद्धियो।

(२६) त्यसै मौकामा उसका योद्धाहरूले लुकाइराखेका युद्ध सामग्री सबै झकी पुरानो राजाका दरबारमा घेरा दिई खाम्बोङ्बाहरू धेरै मारिदिए। तरुणी भेषधारी बेहुलीले पनि आफ्नो पिताको ढालतरबारले खुब लडी। पुरानो राजवंशकाहरू सबै खतम भए।


(२७) त्यसपछि उसका पिताका अनुचरवर्ग सब जम्मा भई तरुणी भेषधारी मानिसलाई आफ्नो राजा बनाए तर उसको पुरुष नाउँ थिएन। तसर्थ उसका योद्धाहरूले उसलाई यो चेम्फुजङ गढबाट भएको भनी उसलाई चेम्जङ हाङ भनी नाउँ राखिदिए। 

माबो हाङको देववाणी (ईमानसिं चेम्जोङ लिखित)

(१) माबो हाङ राजाको शरीरमा युमासाम आत्मा चढी उनले बकेका देववाणी यिनै हुन्

(२) किरातवंश सबैले सुन्नू। तिमीहरूको सृष्टिकर्ता, मूल शक्ति, सर्वव्यापी परमात्मा तागेरा निङ्वाफुमा जसले पहिला उत्पन्न भई सृष्टिको रचना गर्‍यो, उसले यो उपदेश दिँदैछु, सुनेर सबैले सिक्नू।

(३) आफ्नो पूर्व अवस्थल छाडी टाडाको देश आउनु परे तापनि तिमीहरू नतर्सिनू। नडराउनू। कारण माथिल्लो देश, तल्लो देश सबै मेरै हुन्। तिमीहरू सबै मेरै हौ।

(४) अघि आकाश, पृथ्वी केही पनि थिएनन्। उज्यालो पनि थिएन। अँध्यारो सुन्सान थियो। आगोको ज्वालाका माझबाट, उज्यालो ज्योतिका माझबाट म आई मेरा शक्तिले सृष्टि गरी मेरो ज्ञान, मेरो बुद्धिले मानिस बनाई पृथ्वीको फूल मेरो छोराछोरी भनी प्यारो गरी राखेको हुँ।

(५) अघि एकखेप मानिस जातिले साह्रै पाप काम गरेकाले मैले नष्ट गरेँ। मानिस जातिले आफ्नो सृष्टिकर्तालाई चिन्दै चिनेनन् भने उसको सृष्टिकर्ताले उनीहरूलाई नष्ट गर्छन्। अघिअघि विद्वान्विद्वान् मानिसहरू निस्के र
तिनीहरूलाई अर्ती उपदेश दिएँ। सुन्नेहरू बाँचे। नसुन्नेहरू आफै नष्ट भए।

(६) बखत बखतमा मानिसहरूलाई अर्ती उपदेश दिनका निम्ति परमात्मा भगवान् ज्ञानी अङ्सी पण्डितका रूपमा जन्म लिन्छन् र अर्ती उपदेश दिन्छन्। मानिसहरूले बुझी उनीहरूको कुरा विश्वास मान्नुपर्छ। यस्तो अर्ती उपदेशका कुराहरू सुनी चङ्ख हुनु, ज्ञानी हुनुपर्छ। परमात्मा निङ्वाफुमाको सेवा र भक्ति गर्नुपर्छ। धर्मले मानिस बाँच्छन् तर पापले मानिस नष्ट हुन्छन्।

(७) सिन्युक (चीन)बाट मैले तिमीहरूलाई लिई आए। आफ्नो शक्तिले लडाइँंमा मद्दत गरेँ। सिन्युक (चीन) मुदेन (तिब्बत, भोट) देश एक बनाए। मुदेन (तिब्बत, भोट) बाट यहाँ ल्याए। सुयेन् नोसुनु हाङमा महारानी म नै भए र यो धर्म प्रचार गर्न लाएँ र यो धर्म सिकाएँ। अर्ती उपदेश दिएँ।

(८) उपाजङ्बाट चाङ्पाजङ् ल्याएँ। तिमीहरूको नेतृत्व मैले गरेँ। सबै गढहरूमा जय प्राप्त गराएँ। मधेससम्म साँध लाएँ। म आफ्नो शक्तिले जे पनि गर्नसक्छु।

(९) तिमीहरूलाई मैले ल्याएँ। सबैलाई म जोगाउँछु। तिमीहरू सबै मेरै हौ। नडराउनू। नतर्सनू। नअत्तालिनू। मेरो भक्ति राम्रो गर्नू। मेरो अर्ती उपदेश ठीकसँग मान्नू। मूल शक्ति मै हुँ। भगवान् परमात्मा निङ्वाफुमा मै हुँ, अरू मानिसहरूको दस्तुर नगर्नू। झारजङ्गल, नदी, पहाड मैले रचना गरेको हुँ। मेरो शक्तिलाई अरू कसैले केही गर्न सक्तैन।

(१०) सर्वशक्तिमान आत्मा मै हुँ। सुखसमृद्धि म दिन्छु। ज्ञानबुद्धि म दिन्छु। मानिसको आयु म दिन्छु। राजकाज देवकाज सब म दिन्छु। मेरो नाउँ कहिल्यै पनि नभुल्नू। मलाई मातापिता मानी तिमीहरू सबै मेरै काखमा बस्नु, म प्यारो गर्छु। रक्षा गर्छु, आशिषपूर्ण भाग्य दिन्छु।

(११) दुस्मन ल्याउने, दुस्मन खेद्ने, लडाइँं गराउने, लडाइँं थमाउने, राजा बनाउने, राजा मास्ने, जस्तै काम पनि म गर्नसक्छु।

(१२) जङ्गली स्थानमा बाटो बनाउने, पानी निकाल्ने, पशुपक्षी, किरा, माछा गैह्र पाल्ने गर्ने मै हुँ।

(१३) मेरो सेवाभक्ति गर्नू। तिमीहरूको पाप र धर्मको कुराको न्याय म गर्छु।

(१४) पापकर्मलाई म घिन गर्छु, धर्मकर्मलाई म प्यारो गर्छु। मनमा राम्रो विचार गर्नू, मन पवित्र राख्नू र चोखो पवित्र भएर बस्नू।

(१५) तिमीहरूका छोरानाति गैह्रलाई राजकाज गर्ने, देवकर्म गर्ने आशिष दिई भाग्यमानी बनाउछु। तिनीहरू माननीय मानिस भलाआदमीहरू हुन्छन्। तिमीहरूको मानइज्जत बढ्छ, तिमीहरूको मानइज्जत बढ्दा मेरो पराक्रम र गौरव बढ्छ। तिमीहरू मेरा छोराछोरी हुनेछौ र म तिमीहरूको मातापिता हुन्छु।

(१६) सुरुको देवशक्ति, अन्यको देवशक्ति, अघिल्लो देवशक्ति, पछिल्लो देवशक्ति एक्लो सर्वशक्तिमान आत्मा मै मात्र हुँ भनी म भनिरहेछु। अरू देवगण सबै मैले रचना गरेको हुँ। मेरो सेवाभक्ति गर्नु र असल हुन्छ।


अघिअघिको मुन्धुमशास्त्र सबै भनेँ। पछिको पनि भन्न सक्छु। ज्ञानबुद्धि खोज्छौ भने मसँग लागी बस्नू। मेरो उपदेश सुन्नू। पापकर्म नगर्नू। गरिब टुहुरालाई नदबाउनू। आफू बाँच्ने हो भने अरूलाई पहिला बचाउनू। आफू उठ्नु मन भए पहिला अरूलाई उठाउनु, आफूलाई केही काम गर्न मन भए पहिला परमात्माको शक्ति माग्नु। आफैले आशिष माग्नू र मात्र काम गर्नू। आफैलाई प्रथम बुझ्नुपर्छ। आफूले आफूलाई बुझ्नसके अरूहरूलाई पनि बुझ्न सकिन्छ। अरूहरूलाई राम्ररी बुझ्नसके सर्वव्यापी परमात्मा तागेर निङ्वाफुमालाई बुझ्न सकिन्छ। बुझ्ने ज्ञान ठुलो शक्ति हो। 

माबो हाङको कथा (ईमानसिं चेमजोङ लिखित)

(१) उबा हाङपछि किरात देशमा उसैको छोरो माबो हाङ राजा भयो। उसले पनि प्रजावर्गमा युमाधर्म सिकायो। ऊ युमाधर्मको बडो भक्त थियो। उसले उसको राजधानी चेम्फुजङबाट यासोक जङ्मा सार्‍यो।

(२) एकदिन माबो हाङ राजा खोजुम मन्त्री र अरू सिपाहीहरूसँग सिकार खेल्न लेकका वनमा गएका थिए। राजाका चारवटा चिजिङ्नातकादोङ्तकेदोङ् र परादेन नाउँ गरेका सिकारी कुकुरहरू थिए।

(३) लेकका वनमा पुग्नासाथ ती कुकुरहरूले यौटा मृग देखे। कुकुरहरू भुक्दै मृग खेद्न लागेे। राजामन्त्री र अरू मानिसहरू पछिपछि पछ्याउन लागे।

(४) अलिक माथि पुगेपछि कुकुरहरू हराए। मृग पनि हरायो। राजा छक्क परे।

(५) तिनीहरू सबै थाकेकाले अलिक माथि गएर सबैजनाले एउटा सानो टारमा विश्राम गरे।

(६) त्यस बखत त्यो टारदेखि अलिक टाढा गुराँसका रूखको फेदमा एउटी सुन्दरी युवतीले रेसमको तान बुन्दै गरेकी सबैले देखे। खोजुम मन्त्रीले भन्यो― राजसिंहासन सुहाउँदी रानी देखियो। अब सँगमा लाने बन्दोबस्त गर्नुपर्छ।

(७) राजाले भने― एकक्षण चुप लाग। आज मृग र कुकुरहरू सबै हराएका छन्। यस्तो वृन्दावनमा यस्ती सुन्दरी युवती कसरी प्रकट भइन्बुझ्नुपर्छ। खराब चिताउनु हुँदैन। म नजिक गई बिन्ती चढाई सोधनी गर्नेछु।

(८) यति भनी हातमा फूलपात लिएर राजाले त्यस तान बुन्ने युवतीका सामुन्ने गई फूलपात अघि राखीघुँडा टेकी दुई हात जोडी सोधनी गर्‍यो।

(९) हजुर मालिकिनी! हामी मानिस जाति हौँ। कुरा बुझ्न सक्तैनौ। यस्तो वृन्दावनमा हजुर कताबाट प्रकट हुनुभयोहजुर को होइबक्सिन्छहजुर देवी होइबक्सिन्छ कि मानिस होइबक्सिन्छकृपया मलाई भनिदिनुहोस्।

(१०) ती युवती रूपधारी देवीले भनिन् महाराज तिम्रो मन बुझ्न आज म यहाँ प्रकट भएकी हुँ। अब मैले तिम्रो स्वच्छ मन बुझेँ। तिमीले साँझ बिहान परमात्मा निङ्वाफुमाको जपना गरेको स्वच्छ हृदयको भक्ति रहेछ भनी बुझेँ। अब म को हुँ तिमी आफै जान्नेछौ भनी त्यो युवती राजाका सामुन्ने अन्तर्ध्यान भइन्।

(११) राजा छक्क परे। त्यसै बखत मानिसहरूले कुकुर भुकेको शब्द सुने। एक्कासि मृग पनि दगुर्दै आएको देखे। तिनीहरूले बाण हानी सिकार मारे।

(१२) दरबार फर्केपछि माबो हाङ राजाको दिल खुस भएन। उनले साँझबिहान परमात्मा निङ्वाफुमाको सेवा भक्ति गर्न लागे। प्रार्थना गरेर भने― हे परमात्माअस्ति वृन्दावनमा दर्र्शन दिने कुन देवी होउसको नाम के हो। उसलाई चिन्ने ज्ञानबुद्धि दिनुहोस् भनी साह्रै जोडले भक्ति गर्‍यो।

(१३) सातौँ दिनको साँझ माबो हाङ राजा परमात्मा भगवान्को भक्तिमा लागिरहेथ्यो। त्यस बेला परमात्माको रूप बुढी बज्युजस्तो भई माबो हाङ राजाका सामुन्ने देखापर्नुभयो। को हो भनी राम्ररी हेर्दा अन्तर्ध्यान हुनुभयो। क्षणभरमा त्यो आत्मा माबो हाङ राजाका शरीरमा चढी माबो हाङ राजा बक्नलाग्यो।

(१४) भूतवर्तमान र भविष्यत् कालका कुराहरू बक्न लाग्यो। सृष्टि कसरी भयो! मानिस सृष्टि कसरी  भयो। राजाहरू कसरी भए। कसको नेतृत्व दिई उसका पिता पूर्खाहरूलाई सिन्युक देशबाट किरात देशमा कसले ल्याए! फेरि पछि केके हुने हो जम्मै बक्नलाग्यो। युद्ध भएमा शक्तिमान आत्मा भई मद्दत गर्नेविद्या सिकेमा निसाम्माङ (सरस्वती) भई मद्दत गर्नेधनदौलत विषय याङ्साम्माङ (ल73मी) भई मद्दत गर्नेराजगर्ने विषय हाङसाम भई मद्दत गर्नेमूल आत्मा अवतार भई आउने युमासाम मै हुँपरमात्मा मै हुँ। सृष्टि रचना गर्नेसृिष्ट नष्ट गर्ने निङ्वाफुमा मै हुँ। दुनियाँमा ज्ञानबुद्धि खोज्ने मन बनाउने ओत्परमात्मा निङ्वाफुमा मै हँु। मेरो सेवाभक्ति गर्नु भनी देववाणीहरू बक्न लाग्यो।

(१५) सुन्ने मानिसहरू तर्से। छक्क परे। डराए। देव औतारी राजा भनी श्रद्धा गर्न लागे।

(१६) त्यस बेलादेखि यो देशमा माबो हाङ राजाले झन् जोडसँग यो युमाधर्म प्रचार गरे। यासोक गढबाट युमाधर्म प्रकट भई प्रचार भएकाले युमासाम्माङ्को अर्को नाउँ यासोकेनी महारानी भयो।

(१७) यहाँ किरात देशमा युमाधर्म मान्नेहरूका माझमा कुखुरासुँगुरको बली दिने चलन थिएन।

(१८) पछि सिन्युकमुदेन देश (चीनतिब्बत) हरूका मानिसहरूले युमाधर्मका पुरोहितहरूका नाउँमा कुखुरासुँगुरहरू काटी मेजमानी गर्न थाले भन्ने खबर यहाँका किराती वंशले सुने।


(१९) यिनीहरूले पनि यही चलन गरी पुरोहितका अघि सुँगुरकुखुरा मेजमानी राख्न थाले। पुरोहितहरूले पनि बली (पूजा) गर्न सुरु गरे। 

लासा हाङको कथा (ईमानसिं चेम्जोङ लिखित)

(१) मुनाफेन मुक्केगुबाको छोरा लासा हाङ भयो। उसले उपाजङ्का बासीहरूलाई युमाधर्म सिकायो।
(२) त्यसबखत उपाजङ्मा दक्षिणका तेमेन (भारत) देशबाट बौद्धधर्म ल्याई वहाँका मानिसहरूलाई सिकाउँदै थिए।
(३) तर लासा हाङ राजाले त्यौ बौद्धधर्म उसका देशमा प्रचार गर्न दिएन ।
(४) उसले त्यो धर्म उपाजङ्बाट हटाउने मतलब गरी बौद्धधर्म मतावलम्बीहरूलाई सताउन लाग्यो।
(५) अब धर्मका लागि उपाजङ्मा लासा हाङ राजा र लामाहरूका बीच झगडा भयो।
(६) लालुङ् पाल्दोर नामक एक लामाले लासा हाङ राजालाई मारिदियो। औ लामाहरूले उसलाई लाङ्दरमा भनी घृणित नाउँ राखिदिए।

(७) लासा हाङकी रानीलाई उपाजङ्को सिंहासनमा राखी लामाहरू त्यो देशको शासक भई राज्य गर्न लागे।
(८) लासा हाङ राजाका दुई भाइ राजकुमारहरू थिए। तिनीहरूलाई उबा हाङ र चाङ्बा हाङ भन्थे।
(९) ती दुईजना राजपुत्रहरू जवान भएपछि लामा मन्त्रीहरूले कान्छो राजपुत्र चाङ्बा हाङलाई उपाजङ्को सिंहासनमा राखे औ तिब्बत देशभर बौद्धधर्म सिकाए।

(१०) जेठो राजपुत्र उबा हाङले मन भाँचिएर युमासाम भगवतीको भक्ति गरी ज्ञानबुद्धि शक्ति माग्योे।
(११) उबा हाङले अघि आफ्ना पितापूर्खाले मानिल्याएको सर्वव्यापी परमात्माको भक्ति गरी ज्ञानबुद्धि तथा शक्ति माग्यो। परमात्माले युमासामको रूप लिई उसलाई सपनामा भन्नुभयो― भाइ चाङ्बा हाङ तिब्बतको राजा भयो भनी रिस नगर्नू। दक्षिण दिशा युद्ध गर्दै जानू। शक्ति दिनेछु। जताजता लडाइँ गरे पनि जय प्राप्त होस् भनी आशीर्वाद दिनुभयो। फेरि म तिमीसँग रहन्छु भनी आशा देखाउनुभयो।

(१२) उबा हाङको चित्त बुझ्यो। बिहान उठेर उसले आफ्ना अनुचरवर्गसिपाहीहरू भेला गर्ने तर्खरमा लाग्यो। बिस्तार बिस्तार योद्धाहरू धेरै भेला पारेर उबा हाङले चाङ्पाजङ् गढमा हमला गरी विजय गर्‍यो।

(१३) युमासाम परमात्माले शक्ति दिएकाले उबा हाङले चाङ्पाजङ्देखि दख्खिन साम्येजङ्पावोजङ्तिङ्रीजङ्तानाक्जङ्तिङ्केजङ्खाम्पाजङ् गैह्र गढहरू हमला गर्दै परास्त गर्‍यो।

(१४) परमात्माको शक्ति र सिन्युक महारानीको आदेशअनुसार उबा हाङले किरात देशको ताप्लिङ्जङ्पोमेजङ्यासोकजङ्चेम्फुजङ गढहरू विजय गर्दै मिथिला प्रदेशसम्म हमला गरी आफ्नो देशको सिमाना वहाँ राख्यो।
(१५) उबा हाङले चेम्फुजङ गढमा विराजमान भई पहाडबासी किरात समाजमा युमाधर्म मान्न सिकायो औ विद्याप्रचार गर्‍यो।