Sunday, May 22, 2016

ब्रम्हाण्ड रचना मुन्धुम (ईमानसिं चेमजोङ्ग लिखित)

(१) ओत्, जताबाट पनि आइपुग्ने उज्यालो आत्मादेव तागेरा निङ्वाफु माङ।
(२) ओत्, त्यस दिनमा, त्यस  युगमा  देवराजपुलजस्तो  तन्किएको  आकाश, बारीको  माटोबाट  भएको  पृथ्वीहावाको (वेगसित बग्ने) टुप्पा, आकाशबाट झर्ने  वर्षा  पानीमाथि तलका नदी, चन्द्रसूर्यपानीरूख, ढुङ्गा, पहाडका टाकुराहरू, वनका रूखहरू, मासुको ज्यू, पक्षी, खोलामा हुने माछाको बच्चा, चराका बच्चाहरू, तरुणीबाट (जन्म) हुने घाम (ज्योतिजस्तो) मान्छे आदि केही केही थिएनन्।
(३) उँधो भ्वाङ (आकाश) उँभो भ्वाङ (आकाश) तथा ठुलो फाँट शून्य र अँध्यारोे थियो।
(४) उँधोउँभो भ्वाङहरूका माझबाट मुल भुँवरी हावा निस्केर उठेर आठ फन्को घुम्दै खडा भयो। 
(५) जन्मिएर आठ फन्को घुम्दै उठ्दा सबभन्दा मसिनो बालुवा (परमाणु) निक्ल्यो।
(६) परको पवित्र (माननीय) मुना मैदानमा सृष्टिका बाबुआमा जन्मिए।
(७) त्यो भुँवरी हावा बाबुआमा भई जन्माएको बच्चाले सानु बालकलेझैँ सास  फेर्‍यो ।  उसले  बाबुआमा  मूल भुँवरी  हावासँग  झगडा  गर्न  लाग्यो ।
(८) उँधो उँभो शून्यबाट उत्पन्न भएका आँधीका (वेगसित बग्ने) टुप्पा हावा र गोल आँधी बाहेक पृथ्वीलगायत अरू केही पनि उत्पन्न भएका थिएनन्।
(९) अग्निबाट उत्पन्न हुने चन्द्र तथा सूर्यहरूको चम्कने ज्योति र तिनीहरूको गति पनि प्रकट भएको थिएन।
(१०) त्यसबेला आगाको ज्वालाको ठुलो अनुहार आयो। सास निकाल्ने, ग्रहण गर्ने (शक्ति) देखि बिजुलीको ज्योतिद्वारा आनन्दपूर्ण वचन आदि आकाशवाणी भई आँधीका (वेगको) टुप्पाहरू छुट्यायो।
(११) धागोको पोयाजस्तो जोडी नभई बिजोडी खिजोरा मेन्जोरा देवले सानो बालक भई उसको ज्यू चलमल गर्दा आँधी तथा उसका बच्चाहरू उत्पन्न भएका हुन्।
(१२) ती धागाको पोयाझैँ जोडी नभई जोडी नभएको एक्लो देव बालकका रूपमा उत्पन्न भई (आगोमा) देखापर्ने नै कैल्हे पनि जुनी नफेरिने तथा उसका विषयमा केही पनि भन्न नसकिने अगम अपार ईश्वर भए।
(१३) ओत्, सृष्टिकर्ता आदि देवले आमा नभए पनि आमाले जन्माएझैँ, बाबु नभए पनि बाबुकै ज्यूको बच्चाझैँ एउटा देवको सृष्टि गर्नुभयो र भावी लेख्नुभयो। विकास भएर जाने ठुलो मानिस स्वरूपको देवता पोरोक्मी यम्फामी माङ् प्रकट भयो।
(१४) पोरोक्मी यम्फामी देवपछि दस र चार अरू देवगणको सृष्टि गर्नुभयो।
(१५) यसरी पाजोमाङ् फोक्ताङ्माङ्, सुसुम्बुमाङ्, वेसुम्बुमाङ् पेबेसोमाङ्, पेनाम्सो माङ्, पेलासो माङ् कुम्फा माङ्, मेन्थामाङ्, पेलिमाङ्, लोक्फामाङ्, चम्बामाङ्, रूपीमाङ्, पावोतीमाङ्हरूको सृष्टि भयो।
(१६) बारीको माटोबाट बन्ने (घुमिरहने) पृथ्वीको रचना गर्नलाई जताबाट पनि आइपुग्ने उज्यालो आत्मदेवले इच्छा गर्नुभो र पोरोक्मी यम्फामी देवतालाई आदेश दिनुभयो।
(१७) पोरोक्मी यम्फामी देवले उँधो खाडलमा पानी भरी थाल्नीको प्रथम तथा त्यसमाथि दोस्रो समुद्रको रचना गरे। आरम्भमा केवल जल मात्र थियो।
(१८) त्यो प्रथम तथा द्वितीय समुद्रका गर्भमा मुसेखा सेखाना नामक एक ठुलोे माछा सृष्टि गरे।
(१९) त्यसभन्दा अझ माथि मुजिङ्ना खियङ्ना नामक अर्को ठुलो माछा बनाइराखे। उसलाई समुद्र बोकेर थाम्ने शक्ति दिए।
(२०) त्यसमाथि अक्वानामा नामक कछुवा रूपको माछा बनाई त्यसलाई मुरुप्ली खेरुपली अर्थात् भूकम्प थाम्ने शक्ति प्रदान गरे।
(२१) त्यसमाथि मुगुप्लुङ थेगुप्लुङ नामक ढुङ्गाहरू बनाइराखे। तैपनि पृथ्वीको रूप बनेन।
(२२) पोरोक्मी यम्फामी देवले ओत् जताबाट पनि आइपुग्ने उज्यालो आत्मदेव तागेरा निङ्वाफुसँग ज्ञान बुद्धि मागे। तागेरा निङ्वाफु माङ्ले पनि उसलार्ई ज्ञानबुद्धि दिनुभयो।
(२३) पोरोक्मी यम्फामी देवले मुप्लुङ थेगुप्लुङ ढुङ्गाहरूमाथि मुरोप्लुङ खेरोप्लुङ ढुङ्गाहरू राखे। बारीको माटोबाट बन्ने पृथ्वीलाई ठेकी बनाए। त्यसमा घामको मधानी राखे। जूनको मधानी राखे। समुद्र मन्थन गर्न थाल्दा पृथ्वी फनफनी घुम्न थाल्यो। यसरी मन्थन गर्दा जून चुँडिएर उछिट्टिएर जाँदा माथि साना साना चन्द्र सूर्यहरू बने, धेरै ग्रहहरू बने। पृथ्वी आफ्नो शक्तिमा मुरोप्लुङ खेरोप्लुङ ढुङ्गाका आधारमा हावामा घुमिरह्यो।
(२४) पुलजस्तो तन्किएको आकाश नौ तला तथा बारीको माटोबाट बनेको पृथ्वी सात तलाको बन्यो।
(२५) त्यो पुलजस्तो तन्किएको आकाश तथा बारीको माटोबाट बनेको पृथ्वी बाँध्ने अरू थोक केही पनि थिएन।
(२६) जताबाट पनि आइपुग्ने उज्यालो तागेरा निङ्वाफुमा ईश्वरले इच्छा गरे।
(२७) पोरोक्मी यम्फामी देवका मुनि दस औ चार (चौध) देवगणले उनीहरूको शक्तिअनुसार सृष्टि गर्न सुरु गरे।
(२८) पाजोमाङ देवले उसको बच्चाजस्तो गरी तीस र तीन (तेत्तीस) देवगणको रचना गरे। भावी लेखे। (तीमध्ये) लेखिसोलिमा एउटा हो।
(२९) फक्ताङमाङ देवले उसका बच्चाजस्तो गरी सावायेत् पेल्बोबन नामक दानवको रचना गरे।
(३०) सुसुम्बुमाङ देवले आफ्नो बच्चाजस्तो गरी पानीका भुवँरीमा बस्ने आठ किसिमका जलदेवताहरू बनाए।
(३१) पेसुबुमाङ देवले आफ्ना बच्चाजस्तो गरी चार सय आठ हजार ताराहरू र बिजुली बनाए।
 (३२) पेबेसोमाङ देवले आफ्ना बच्चाजस्तो गरी ज्यूको हंस देवता, भुँईका देवता, घाम, जून र देवगणको सृष्टि गरे।
(३३) बेलासोमाङ देवले आफ्ना बच्चाजस्तो गरी चन्द्रदेवको सृष्टि गरे।
(३४) बेनाम्सोमाङ् देवले आफ्नो बच्चाजस्तो गरी सूर्यदेवको सृष्टि गरे।
(३५) कुम्फामाङ देवले आफ्नै बच्चाजस्तो गरी पृथ्वीलाई नौ ठुलाठुला देश, सात ठुलाठुला टापु, आठ अग्लाअग्ला पहाड, सात ठुलाठुला समुद्रहरूमा विभक्त गरी पृथ्वीमा झारजङ्गल समेत उमारे।
(३६) मेन्थामाङ देवले आफ्नो बच्चाजस्तो गरी दुई सय नौ किसिमका हावा, नौ किसिमका बादल र दुई किसिमका बर्षे पानी (वर्षा) बनाए।
(३७) पेलीमाङ देवले आफ्नो बच्चाजस्तो गरी पृथ्वीभित्र धातुहरू, पहेँलो टल्किने सुन, सेतो टल्कने चाँदी, लालवर्णको ताँबा, ढुङ्गा पहरामा हुने फलामढुङ्गा, सिसाढुङ्गा तथा हिरामोतीहरूको सृजना गरे।
(३८) लोक्फामाङ देवले आफ्नो बच्चाजस्तो गरी कछुवा, ठोटरी, सुच माछा सङ्खे माछाहरूको सृष्टि गरे।
(३९) चम्बामाङ देवले आफ्नो बच्चाजस्तो गरी पशुपक्षी, कीटपतङ्ग, नदीभित्र रहने माछा तथा अरू अण्डज प्राणीको सृजना गरे।
(४०) रूपीमाङ देवले आफ्नो बच्चाजस्तो गरी पानीभित्र बस्ने ठुलाठुला गोहीहरू र माछाहरूको सृष्टि गरे।
(४१) पावोतीमाङ देवले आफ्नो बच्चाजस्तो गरी यमराजको सृष्टि गरे।
(४२) ओत् सर्वव्यापी परमात्मा तागेरा निङ्वाफुले उनको महान् शक्तिले सृष्टिको रचना यसरी गर्नुभयो।
(४३) माटोको ठुलो दियोजस्तो पृथ्वीलाई बनाएर राखी, आकाशलाई पुलजस्तो तन्काई, झुन्ड्याई राखेपछि हाहामाङ देव, हाबेमाङ देव, हादोक माङ देव र हासुमाङ देवहरू प्रकट भए। पृथ्वीमा नौ देश, सात द्वीप, आठ पहाडका टाकुराहरू र सात पोखरी र समुद्रहरूमा विभाजन भयो। पुलजस्तो तन्काइएको आकाशमा चन्द्रदेव, सूर्यदेव, ग्रहहरू र चार सय आठ हजार ताराहरू प्रकट भए। बारीको माटोले बनेको पृथ्वीमा जलदेव, वृक्षदेव, ढुङ्गादेव, दुई सय नौ किसिमको हावा, नौ किसिमको बादल, दुई किसिमका वर्षे पानीसावायेत्  पेलबोबन राक्षस, भूत, पशूपक्षी, कीटपतङ्ग, माछा, चरा सबै निक्लिए। झारजङ्गल सबै उम्रिए। पानीभित्र बस्ने ठुलाठुला गोहीहरू माछाहरू गोङ्ज माछा, कछुवा माछा, सुच माछाहरू सबै निक्लिए। धर्तीभित्र धातुहरू, सुनढुङ्गा चाँदीढुङ्गा, तामाढुङ्गा, फलामढुङ्गा, सिसाढुङ्गा, सेतो टल्किने अभ्रखढुङ्गा, निलोढुङ्गा, हिरा, अरू किसिम किसिमका रत्नहरूका खानीहरू बने।
(४४) चन्द्र सूर्यको ज्योति, अछेता छनुपर्ने धेरै देवताहरू, लेकको देवता, फुल (अ48डा) की देवता, दुष्मन जम्मा गर्ने देवता, दुष्मन मार्ने देवताहरू जम्मै निक्लिए। पोखरी, समुद्र नदीहरू जम्मै सृजना भए। पत्थरहरूमा कुनै कुनै देवताका रूपमा थपना राखिने भए। अचम्म अचम्मका पृथक् पृथक् नयाँ नयाँ देवताहरू आदि देवता, अन्त्यको देवता यमराजसमेत प्रकट भए।
(४५) यो पृथ्वीलोकमाथि आत्मालोक छ। त्यहाँ आत्माहरू बास गर्छन्।
(४६) त्यसमाथि आकाशलोक छ। त्यहाँ हाहामाङ (हँसाउने देवता), हाबेमा (रुवाउने देवता), हादोक माङ (बिरह चलाउने देवता), हासुमाङ (पृथक् गर्ने देवता)हरू बस्छन्।
(४७) त्यसमाथि मुधाङ खारा लोक छ। त्यहाँ मरेका हंसहरूको निया हुन्छ।
(४८) त्यसमाथि सत्यलोक छ। त्यहाँ धर्मात्माहरू बस्छन्।
(४९) त्यसमाथि उज्ज्वललोक छ। त्यहाँ धेरै चन्द्रमाको प्रकाश भएकाले घामको उज्यालो जस्तै उज्ज्वल छ । त्यस  लोकमा  महामान्यवर दस र चार (चौध) देवताहरू बस्छन्।
(५०) त्यसमाथि तपलोक छ। त्यहाँ दस र चार (चौध) देवगणले हात जोरेर ओत् सर्वव्यापी परमात्माको भक्ति गर्दै बस्छन्।
(५१) त्यसमाथि पवित्रलोक छ, त्यहाँ पोरोक्मी यम्फामी देव हातजोरी ओत् सर्वव्यापी तागेरा निङ्वाफुमा ईश्वरको भक्ति गर्दै बस्छन्।
(५२) त्यसमाथि वैकुण्ठलोक छ। उज्यालो टल्कने र बिजुलीको झल्भि्कलको माझमा ओत् सर्वव्यापी परमात्मा तागेरा निङ्वाफु ईश्वर आफ्नो ऐश्वर्य र वैभवमा बस्नुभएको छ।
(५३) यो पृथ्वीलोकमुनि मुरोप्लुङ खेरोप्लुङ नामक ढुङ्गाको लोक छ।
(५४) त्यसमुनि मुगुप्लुङ थेगुप्लुङ नामक अर्कै ढुङ्गाको लोक छ।
(५५) त्यसमुनि मुरुप्ली खेरुप्ली लोक छ। त्यो हल्लियो भने पृथ्वी नष्ट हुन्छ। अक्वानामा नामक कछुवा रूपको माछाको शक्तिले भूकम्प थाम्छ।
(५६) त्यसका मुनि मुजिङना खियङना नामक ठुलो माछाको बस्ने जग्गा छ। त्यहाँ पानी मात्र छ।
(५७) त्यसमुनि मुसेखा सेखाना नामक ठुलो माछा  बस्छ। समुद्र मात्र छ।
(५८) त्यसमुनि अघि आदिमा बनेको सिम्सार (हिलो पानी) भएको (त्रिवेणी) लोक छ।
(५९) त्यसमुनि नरककु48ड छ। त्यो कैल्हे पनि ननिभ्ने आगाले घेरिएको छ। वहाँ मृत्युका राजा यमराज बस्छन्।
(६०) यो पृथ्वीको चारदिशामा चार महासमुद्र छन्।
(६१) उत्तर दिशामा थोसिङ (माथिल्लो चीन) महासागर, दक्षिण दिशामा तेमेन (हिन्द) महासागर, पूर्व (घाम झुल्कने) दिशामा पोसनथार (प्रशान्त) महासागर र पश्चिम (घाम डुब्ने) दिशामा पुरानिला (अन्टार्टिक) महासागर छन्।
(६२) फेरि समुद्रहरू तीनवटा छन्। ती ताई समुद्र, तहे समुद्र र लिङबित समुद्र हुन्।
(६३) यो पृथ्वीमा सातवटा ठुला ठुला टापुहरू छन्। तिनका नाम जम्बुद्वीप, सालमलीद्वीप, कुशद्वीप, सिंहलद्वीप, पुष्करद्वीप, सकद्वीप र ताईद्वीपहरू हुन्।
(६४) यो पृथ्वीमा आठवटा ठुला ठुला देशहरू छन्।
(६५) थोसिङ (माथिल्लो चीन) देश, तेमेन देश (दक्षिण) ताई देश, तहे देश, चीन देश, भोट देश, भारत देश र कुश देशहरू छन्।
(६६) यो पृथ्वीमा आठवटा अग्ला अग्ला पहाडका टाकुराहरू (पर्वत) छन्।
(६७) पूजा गरिइने अग्लो पहाड, चम्जम्लुङमा निलो ढङ्गाको पहाड, सेतो ढुङ्गाको पहाड काँधजस्तो  ढुङ्गाको पहाड, प्रतिष्ठा गरिने ढुङ्गाको पहाड, कुरा गर्नेजस्तो अग्लो पहाड, चुला चुली उठेको अग्लो पहाड, कोङ्कोङ्लुङ्मा पहाडहरू छन्।
(६८) बारीको माटोले बनेको (घुमिरहने) बत्तीझैँ ठुलो बत्ती पृथ्वीका रूपमा राख्यो औ बारीको माटोले बनेको (घुमिरहने) पृथ्वी मुरोप्लुङ पहाडका आधारमा हावाका माझमा जोडसँग घुम्दै बस्यो।
(६९) माटो बनेको अलगअलग, थलथलाउँदो थियो। रूखहरू अलग्गै कलकलाउँदा औ ढुङ्गाहरू अलग्गै गिलागिला थिए।
(७०) बारीको माटोले बनेका (घुमिरहने) पृथ्वी सुखा र तह नमिलेकाले दुबोझारका टुसाहरू उमार्न तथा गँडेउला आदि अरू किराहरूको सृष्टि गर्न जताबाट पनि आइपुग्ने उज्यालो तागेरा निङ्वाफुमा ईश्वरले इच्छा गर्नुभयो र बनाउनुभयो।
(७१) त्यसले नमिलेका ठाउँहरू मिलायो। दुबो झारले पृथ्वीको माटो बाँध्यो। साना ठुला वृक्ष जम्मै छिप्पिए (हुर्किए)।
(७२) भनेको जस्तो भयो, (तर) भनेजस्तो अलग रह्यो। सकिएकोजस्तो भयो, (तर) सकिएको जस्तो अलग रह्यो। पानीमात्र थियो।
(७३) बारीको माटोले बनेको (घुमिरहने) पृथ्वी, पुलजस्तो तन्काइएको आकाश सुहाएन भनेर जताबाट पनि आइपुग्ने उज्यालो तागेरा निङ्वाफुमा ईश्वरले भन्नुभयो।
(७४) मासुको ज्यू भएका पशुपक्षी र वृक्ष, झारपात, माथि तल नदीहरू, पानी, रूख, ढुङ्गा पहाडका  टाकुराहरू, खोलामा हुने माछाका बच्चा तथा चराका बच्चा, हावाका टुप्पा, आकाशबाट पठाइएको पानी, जूनको सेतो ज्योति, घामको चम्कने ज्योति, पानीबाट पानी, कीटपतङ्ग, यो जग्गा, त्यो जग्गा, सबै बनाए र पनि बारीको माटोले बनाएको (घुमिरहने) पृथ्वी सुहाएन, कारण मानिस जाति थिएन। 


1 comment:

  1. I really appreciated with you dear bro Bikram to to provide this our yakthumbas cultural Mundhum written by iman sing chemjong thank alot.

    ReplyDelete