(१) भाषा नमिलेकाले सबै मानिसहरू अलगअलग भए। अलगअलग गढहरू बनाएर अलगअलग राजाहरू भई बसे।
(२) बाझ्नु, जुध्नु, लडाइँ गर्नु परेकाले एकै ठाउँमा बस्न नसक्ता कोही उत्तर, कोही दक्खिन, कोही पश्चिम, कोही पूर्व छुट्टिएर टाडाटाडा मुलुकतिर बढ्दै गए।
(३) त्यो प्रतिष्ठित मुना मैदानको मुलुकदेखि मागोङ् वंशी एक हुद्दा छुट्टिएर सिन्युक् मुलुकमा पुग्यो।
(४) त्यस देशमा बस्ता रहँदा पछिबाट तिनीहरूका माझमा माङ्हाङ नाउँ गरेका एकजना शक्तिमान राजा निस्के।
(५) उसका शासन कालमा त्यस देशमा एक खेप अनिकाल लागी मानिसहरू भोकले मर्नलाग्दा माङ्हाङ राजाले परमात्मा निङ्वाफुमाको भक्ति गरे।
(६) उनले सपना देखे, परमात्मा निङ्वाफुमा आएर भन्नुभयो, बिहान उठेर बारीमा गएर हेर्नु। अन्न उमि्रएको देख्यौ भने खानु भनी अर्ती दिनुभयो।
(७) बिहानै उठेर माङ्हाङ राजा बारी हेर्न जाँदा बारीभरि धेरै सिँबी, भटमास उमि्रएर पाकिरहेको देखी उसको मन साह्रै खुसी भयो।
(८) सपनाको कुरा पनि साँचो रहेछ भनी माङ्हाङ राजाले ठुलो सभा गरी प्रजावर्गलाई भने।
(९) सर्वव्यापी परमात्मा तागेरा निङ्वाफुमाको भक्ति गरेँ। सपना देखेँ। सपनामा सर्वव्यापी परमात्मा तागेरा निङ्वाफुमा आएर मलाई भन्नुभयो। बिहानै उठेर आफ्नो बारी सबै हेर्नू। अन्न उमि्रएको देख्यौ भने ल्याएर खानू र बाँची बस्नू भनी उहाँले मलाई अर्ती दिनुभयो।
(१०) अघि बिहान रिमरिममा उठेर पाखा बारी जम्मै डुलेर हेर्दा भटमासहरू उमि्रएर पाकिरहेको देखेँर मेरो मन साह्रै खुसी भयो।
(११) तसर्थ, तिमीहरू सबै गएर अन्न ल्याएर खानू र बाँची बस्नू।
(१२) राजाले फेरि सारा मानिसहरूलाई बिजन राख्न, बारी बनाउन, बिजन छर्न, भगवान्को भक्ति गरी आशिष माग्न, न्वागी पूजा गर्न सिकाए। फेरि उनले अर्ती―उपदेश दिएर भने― अनिकालले मारेको बखत भगवान् परमात्मा तागेरा निङ्वाफुमा आफै आई अन्न जुराइदिनुभयो। तसर्थ मानिस जातिले यस्तो दया अनुग्रह कहिल्यै पनि बिर्सनु हुँदैन। बोडी, भटमास पाकेपछि सालबसाल श्रावण महिनामा यो कथा स्मरण गरी चाड मान्नू र भगवान् परमात्मा निङ्वाफुमाका नाममा न्वागी चढाउने पूजा गर्नु भनी माङ्हाङ राजाले आदेश दिए।
(१३) माङ्हाङका पाँच पुस्तापछि सिन्युक देशमा सानवंशी राजा भए।
(१४) यो वंशपछि त्यस देशमा दस किराती राजाहरू आपुङ्गी भई आफू आफू लडाइँ गर्न सुरु गरे।
(१५) यसै बखत यो देशमा एउटा धर्मी तथा ज्ञानी मानिसको जन्म भयो। उसको नाउँ कान्देन हाङ थियो। आफ्नो देश साह्रै अँध्यारो देखेकाले उसको चित्त दुःख्यो। उसले परमात्मा भगवान्को भक्ति गर्न लाग्यो। सर्वव्यापी परमात्मा तागेना निङ्वाफुमाको भक्ति गरी ज्ञानबुद्धि माग्न थाल्यो।
(१६) त्यसपछि कान्देन हाङले सन्त भएर गाउँगाउँ डुली मानिसहरूलाई धर्मको कुरा सिकाउन थाल्यो। तर मानिसहरूले उनको कुरा सुनिदिएनन् उल्टा उसलाई हेला गर्न लागे।
(१७) कान्देन हाङको ज्ञानबुद्धि देखी लुहाङ राजाले उनको दरबारमा उनलाई मन्त्री बनाए तर उनले त्यो मन्त्री काम छाडी गाउँ―गाउँ घुमी धर्मको कुरा सिकाउनमा नै आफ्नोे हृदय आनन्द हुने पूर्ण भएकाले उनले मानिसहरूका माझमा धार्मिक काम गर्ने कुरा सिकाए।
No comments:
Post a Comment