Monday, May 23, 2016

लगन गर्ने विधि (ईमानसिं चेम्जोङ लिखित)

बाचाबन्धन सकेपछि बेहुलाबेहुलीको हात पाउ जोर्नुपर्छ। शास्त्र पढ्नुपर्छ।

ओत्, सर्वव्यापी परमात्मा तागेरा निङ्वाफुको सृष्टिसन्तान। पवित्र शास्त्र परमात्माको साँचो बोलीवचन। नमस्कार छ। 

बेहुलाको गोत्र भनेर पढ्नुपर्छ। यो फलाना गाउँ बस्ने फलानाको छोराले फलाना गाउँ बस्ने फलानाकी छोरी फलानीलाई कुटुम्ब खोजी ल्यायो। तसर्थ यो फलाना गाउँ बस्ने फलानाकी छोरी फलाना गाउँ बस्ने फलानाकी स्वास्नी भई। तसर्थ यो उसको घर भयो। उसले प्रेम सागर ल्यायो। जवानी ल्यायो। परमात्माको सत्वचनबमोजिम मायामोह पनि ल्यायो। अब घरजम बन्यो। अब आजदेखि उसो तिमीहरूको मायासागर, मोहब्बतसागर मिलाउनु। दुई सागर एकै सागर बनाउनु। तिमीहरूको प्रेमीजीवन नछुट्टिन्जेल, प्रेमसागर नसुकुन्जेल, प्रेमपोखरी न भत्किन्जेल, हे प्रेमसागरको मालिक निङ्वाफुमा, यी दुईको प्रेमसागर जोडी दिनुहोस्। यी दुवैको प्रेम सागर बढाइदिनुहोस्। प्रेमीजीवन बढाइदिनुहोस्। हे ज्योतिमय परमात्मा तागेरा निङ्वाफुमा अब उठिदिनुहोस्। जागिदिनुहोस। धर्ती माता, आकाश पिता यी दुई जोडिएकोमा साक्षी बसिदिनुहोस्। सूर्यले किरण दिनुहोस्। चन्द्रमाले ज्योति दिनुहोस्। अग्निले राप दिनुहोस्। सबै जागिदिनुहोस्। घामको किरण, जूनको ज्योति, अग्निको राप ओत्, परमात्मा तागेरा निङ्वाफुको सत्य बचनबमोजिम यी दुई लोग्नेस्वास्नी जोडी भएकोमा साक्षी बसिदिनुहोस्।

अब घामको किरण, जूनको ज्योति, अग्निको राप, यो मुन्धुम शास्त्रको बचन यी दुई जोडी भएकोमा साक्षी बसिदिनुभयो। तपाइँहरूलाई नमस्कार छ।

ओत्, परमात्मा निङ्वाफुमाको महाशक्ति बमोजिम चन्द्रसूर्य, अग्नि देवहरू उठी यो शास्त्रले यी दुई प्राणीहरूलाई लोग्नेस्वास्नीका नातामा जोडी बनाएकोमा साक्षी बसी दिएकोमा तपाइँहरूलाई  नमस्कार छ। चन्द्रमाको बिम्बमा विराजमान हुने भगवान्लाई नमस्कार छ। सूर्यको बिम्बमा विराजमान  हुने  भगवान्लाई  नमस्कार छ। ओत्, सर्वव्यापी परमात्मा तागेरा निङ्वाफु माङको महाशक्तिलाई नमस्कार छ।

ओत्, सर्वव्यापी परमात्मा तागेरा निङ्वाफु माङको पवित्र बचनलाई नमस्कार छ। पवित्र पानी छर्कंदै नमस्कार गर्दैछु। 

आज मानिसहरूका माझमा यी दुई फलाना र फलानी जवानीपनको अवस्थामा पुगेकाले उनीहरूको जीवनको फूल फुलेकाले यिनीहरूको बैँस बास्ना मिलाउने काममा इष्टमित्र, कुल कुटुम्ब, शाखासन्तान, भलापञ्चहरू सुहृदयले आनन्द मनाउन भेला भएका छन्। अब यो विवाहकर्म देवादिदेव परमात्मा तागेरा निङ्वाफु माङका सामुन्ने पुर्‍यायौँ। तसर्थ सबै आकाश, पृथ्वी, चन्द्रसूर्यहरूले आनन्द  मनाएबमोजिम तपाइँ इष्टमित्र, शाखासन्तान, कुलकुटुम्ब, भलापञ्च गैह्रले पनि आनन्द मनाइदिनुहोस्।

अब सबै भलापञ्चहरूका सामुन्ने र देवादिदेव परमात्माका सामुन्ने यी दुई दुलाहादुलहीको मायामोहब्बत मिलाउनलाई, विवाह गरिदिनुलाई मलाई पुरोहित खटाए अनुसार यो भन्न चाहन्छु कि सृष्टिमा सर्वप्रथम विवाह गर्ने, गराउने विधि निकाल्ने सन्त महन्तचाहिँ महात्मा येहाङ हुन्।

यसबेला यी दुई दुलाहादुलहीको जवानीकोे बैँस पूरा भएको फूलको शोभा यिनीहरूले पहिरेको सेतो कपडाको शोभासँग मिल्छ कि? सेतो कपडाको शोभा मुसान्दिङ् फूलसँग मिल्छ तर जवानीपनको फूलसँग मिल्छ कि मिल्दैन? भीरपहरामा उम्रने फेप्पेरे फूल, सुगन्ध बास्ना आउने फूलसँग यी दुई दुलाहादुलहीको बैँस मिल्छ कि मिल्दैन? मिक्जिरी फूल, मृत्युफूल भएकाले यी दुईको बैँससँग मिल्दैन। सुनाखरी फूलसँग यिनीहरूको जीवन मिल्छ कि मिल्दैन? सिङ्जाङ्गो फूल जिउमा लगाई शोभा बढाउने फूलको जीवन र यी दुई दुलाहादुलहीको जीवन मिल्छ कि मिल्दैन? चुवा फूल, चम्पक फूलजस्तो यिनीहरूको जीवन हुन्छ कि हुँदैन? हो, सिनिक्का र चमेना फूलझैँ यी दुई दुलाहादुलहीको जीवन होस्। यी दुईजनाको जीवन यो सिनिक्का र चमेना फूलसँग मिल्यो। 

अब बेहुलीले फूलको माला बेहुलाको गलामा लगाइदिनुपर्छ। बेहुलाले बेहुलीका निधारमा सिन्दुर लगाइदिनुपर्छ। बेहुलीले बेहुलाका पाउमा ढोगी दिनुपर्छ। बेहुलाले बेहुलीलाई, “तिमी आजदेखि उता मेरी धर्मपत्नी भयौ भनी तीनपटक भन्नुपर्छ।

फेरि पढ्नुपर्छ। देवनिगालोको मसिनो टुप्पाको टुकडा धागोले उनी जोडी सुहाउँदो माला बनाएको झैँ आजका यी दुलाहादुलहीको जीवन पनि मायामोहब्बतको डोराले बाँधी शोभायमान जहानका रूपमा बसून् भनी वाचा बाँधेको छु। फेरि चमेलीको फूल बारै मास फूली सुबासना दिएझैँ यी दुई दुलाहादुलहीको जीवनमा सुव्यवहार सुकीर्तिको सुबासना चली रहोस्। भलापञ्चहरूका सामुन्ने म फेरि भन्दैछु। यी दुलाहादुलहीको प्रेमीजीवनलाई मुन्धुम शास्त्रबमोजिम यिनीहरूको जीवन रहिनज्याल मुन्धुमको शक्तिपूर्ण वाचाले एक सूत्रमा बाँधी दिएको छु। सर्वव्यापी परमात्माले आशिष दिनेछन्। 

ओत्, परमात्मा निङ्वाफु माङले सुन्नुभयो। आकाश, पृथ्वी, चन्द्र, सूर्य र तपाइँ भलापञ्च गैह्रले सुन्नुभएको छ। सप्रिएर फलिफाप होस्, जय, जय होस्।

अब च्याब्रुङ् बजाउनेहरू मुलखाँबोको वरिपरि तीन फन्को नाचेपछि विवाहकर्म खतम हुन्छ।


No comments:

Post a Comment