Tuesday, May 24, 2016

भक्ति प्रार्थना (ईमानसिं चेम्जोङ लिखित)

खानेपिउने बेलाको प्रार्थना

ओत्, अन्नपानीको मालिक नमस्कार छ। प्राण राख्नलाई तपाइँले मलाई यो खाने, पिउने चिज दिएकोमा तपाइँलाई अर्चना गरिरहेछु। खाने, पिउने चिज सबै शुद्ध पारिदिनुहोस्। बोलीवचन सबै शुद्ध पारिदिनुहोस्। ज्ञानबुद्धि शुद्ध पारिदिनुहोस्। इष्टमित्र, शाखासन्तान सबै शुद्ध दिलको बनाइदिनुहोस्। खानेलाउने सधैँ पुग्ने आशिष दिनुहोस्। ओत्, सिद्धनामलाई नमस्कार छ।

बेलुकाको प्रार्थना

(१) ओत्, निङ्वाफुमा ईश्वरलाई नमस्कार छ। अग्निबाट सूर्य तथा चन्द्रमाको उज्यालो सृजना गरी चन्द्रमाको ज्योति तथा सूर्यको रापमा विराजमान भई चन्द्र सूर्यको द्वार खोल्न तथा बन्द गर्नसक्ने सामर्थ्यले युक्त भएका सृष्टिकर्ता ईश्वर! तपाइँको सामुन्ने तपाइँको सेवाभक्ति गर्न आइपुगेँ। तपाइँको भक्ति गर्दैछु। तपाइँको बायाँ पाउ पक्री दुई हात जोडी तपाइँको सेवाभक्ति गर्दैछु। मलाई ग्रहण गर्नुहोस्।

(२) साँझमा पनि उज्यालो राख्ने। उज्यालो अँध्यारो बनाउने, सर्वसामर्थी निङ्वाफुमा ईश्वरले दिउँसो उज्यालो दिने चम्किलो घामको ज्योतिले उसको सुन्दर रूप अब लुकायो। अँध्यारो भयो। अब पशुपक्षी, कीटपतङ्ग मानिस जाति सबै अलपझैँ नदेखिने भएका छन्। अब आराम गर्नेछन्।

(३) सृजन्हार पिता, सृजन्हार माता। अघि सुरुबाटै आफ्सेआफ् प्रकट भएका परमात्मा युमासाम शक्ति तपाइँले आफ्नो सृष्टिलाई आफ्नै सानु बच्चाजस्तो गरी माया गरेर स्वर्गबाट पवित्र नजरले हेरी रक्षा गर्नुहोस्। बचाउनुहोस्। जोगाई राख्नुहोस्। सपनामा तपाइँको दर्शन दिनुहोस्। बिहान उठेर फेरि तपाइँको भक्ति गर्नेछु। तपाइँको पराक्रमको महिमा प्रकट गर्नुहोस्। तपाइँलाई नमस्कार छ। ओत्, सिद्धनामलाई नमस्कार छ।

इति। 

No comments:

Post a Comment