(१)
अब पृथ्वीमा मानिसहरू धेरै बढे। चारै दिशा भरिए। दुःख पनि सँगसँगै बढ्यो। पापकर्म
पनि बढ्यो। मानिसहरू पशुपक्षीजस्तै भए। सन्तमहन्तहरूले मुन्धुम शास्त्रहरू सिकाए। धर्मको
बाटो देखाए तर मानिसहरूले सुनिदिएनन्। धर्मउपदेश गरे तर मानिसहरूले ध्यान दिएनन्।
जगत् पापले भरियो। मुन्धुम शास्त्र नपढ्ने भए। अर्तीउपदेश नसुन्ने भए। परमात्मा
निङ्वाफुमाको भक्ति नगर्ने भए। ज्ञानबुद्धि नखोज्ने भए। निया―निसाफ नहेर्ने भए। छुल्याइ, गरिबमारा, ढाँट, रन्डीबाज बेश्यागमन, बदमासहरूले जगत् भरिए। तसर्थ परमात्मा
निङ्वाफुमाले चित्त दुखाउनुभयो। पृथ्वी सुहाएन भन्नुभयो। परमात्मा निङ्वाफुमाले
संसार संहार गर्ने मन गर्नुभयो।
(२) त्यस
बखत मानिसहरूका माझमा यौटा महात्मा थियो। उसलाई लेप्मुहाङ भनिन्थ्यो। ऊ परमात्मा
निङ्वाफुमाको भक्ति गर्थ्यो। रातदिन धूप जलाई परमात्मा तागेरा निङ्वाफुमाको
ध्यानमा लागिरहन्थ्यो। परमात्मा तागेरा निङ्वाफुमा उसको भक्ति देखी खुसी थिए। उसको
विवेक विचार परमात्माले जानेका थिए। उनले मानिसहरूलाई धर्मज्ञान सिकाएका तर
मानिसहरूले उनलाई विश्वास नगरेको परमात्मालाई पूरा थाहा थियो। परमात्मा
निङ्वाफुमाले लेप्मुहाङलाई जोगाउनु पर्यो भनी इच्छा गर्नुभयो। परमात्मा
निङ्वाफुमाले यस्तो विचार गर्नुभयो।
(३) एकखेप
लेप्मुहाङ सखारै उठ्यो। उसको घर छेउमा यौटा सानु खोला थियो। खोलामा नुहाउनु भनी
लेप्मुहाङ गएको थियो। खोलामा नुहाउदै गर्दा यौटा सानो माछा लेप्मुहाङको छेउमा आई
बोल्यो। मलाई बचाऊ। मलाई बचाऊ भन्यो। ठुला माछाले मलाई निल्न लागेको ५। मलाई बचाऊ
पछि म तिमीलाई पनि बचाउनेछु भन्यो। यो कुरा सुनेर लेप्मुहाङ छक्क पर्यो। उसले
अँजुली थापी माछाको बच्चालाई बचायो तर माछाको बच्चा फेरि बोल्न लाग्यो। उसले भन्यो―
मेरो शरीर बढ्दै
आयो। तिम्रा अँजुलीमा आट्दिन। मलाई कुवामा हालिदेउ। लेप्मुहाङले कुवामा हालिदियो।
फेरि उसले भन्यो। मेरो शरीर झन् ठुलो बढ्दैगयो। खोलामा हालिदिए निको होला।
लेप्मुहाङगले त्यसलाई खोलामा हालिदियो। फेरि त्यो माछो भन्न लाग्यो। शरीर अझै
बढ्दै जाँदैछ। यस खोलामा अट्दैन होला। अब ठुलो समुद्रमा जानुपर्यो। पछि फेरि
आउनेछु। अझै कुरा भनी राख्छु। राम्रो सुनी राख्नु भनी लेप्मुहाङलाई भन्यो। पछि
समुद्र बढ्दै आएर पृथ्वी सब डुबाउँछ, पशुपक्षी, कीटपतङ्ग, मानिस गैह्र नष्ट हुन्छन्। तिमीलाई म
बचाउनेछु। म तिमीलाई जोगाउनेछु। मेरो कुरा राम्ररी सुन्नु भनी लेप्मुहाङलाई भन्यो।
(४) यौटा
ठुलो जहाज बनाउनू। त्यसभित्र बस्नू। जहाजभित्र बेग्लाबेग्लै कोठा बनाउनू, तलातला भएको बनाउनू। पशुपक्षी कीटपतङ्ग
जोडी पारेर अलगअलग राख्नू। आहारा समेत बटुली राख्नू। पछि समुद्र बढेर जगत् सब
डुबाउँदै आउँदा त्यो जहाज पानीमाथि रहन्छ। मचाहिँ ठुलो माछा भएर जहाजका छेउमा
आउनेछु। मेरो शिरमा एउटा सिङ् हुन्छ। यौटा ठुलो डोरीले त्यो जहाजलाई बाँधी मेरो
सिङ्मा अड्काउनु। म त्यो जहाजलाई समुद्रमा माथितल वरपर डोर्याएर डुब्न दिन्न। यति
भनेर त्यो माछाको बच्चा खोलाभित्र पस्यो। सोधुङ्गेन् लेप्मुहाङ साह्रै छक्क परेर
आफ्नो घर फर्क्यो।
(५) घरमा
पुगेर सोधुङ्गेन् लेप्मुहाङले माछाको कुरा मानेर विश्वास गरेर ठुलो जहाज बनाउन
सुरु गर्यो। उसको गाउँलेहरू सबैले अवहेलना गर्दै हाँसो गर्न थाले। बुढोको होस
बिग्रन थाल्यो भन्दै हाँस्न थाले। समुद्रबेगर केमा जहाज चलाउने भन्दै हाँसे।
लेप्मुहाङले पछि पानी भरिँदै आई जगत् डुब्छ भन्दा उसको कुरा पत्याएनन्। उसले ठुलो
जहाज बनायो। अलगअलग कोठामा अलगअलग तला बनाई आहार जम्मा पारी पशुपक्षी कीटपतङ्ग
जोडीजोडी भेला गरी अलगअलग कोठाका अलगअलग तलामा राख्यो। उसले जहान छोरानातिहरू
सबलाई जहाजभित्र राख्यो। पानीको उलाव भरिँदै आयो। लेप्मुहाङले जहाजको दैलो बन्द
गरिदियो। समुद्र बढ्दै आयो। भुइँचालो पनि आयो बिस्तारबिस्तार सानो डाँडा, ठुलो डाँडा, पर्वतका टाकुराहरू सबै डुब्दै गए। जहाज
पानीमाथिमाथि उत्रियो।
(६) पशुपक्षी,
कीटपतङ्ग,
मानिस वंश सबै
नष्ट भए। चन्द्र सूर्यले ज्योति दिएन। अँध्यारो भयो। सुनसान भयो। पानीको जलथल
मात्र रह्यो।
(७) त्यसबेला
अघिको सानु माछाको बच्चा ठुलो भयङ्कर रूप लिएर जहाजको नजिक आयो। लेप्मुहाङले ठुलो
डोरीले जहाज माछाको सिङ्मा बाँधिदियो। माछाले जहाजमाथि, तल, वरपर डोर्याउन थाल्यो। रूखहरू मक्किए।
ढुङ्गाहरू बिलिए। अरू केही चिज पनि देखिएन।
(८) पछि―पछि पूर्व दिशा उज्यालो भयो, बिहान भयो। घाम झुल्क्यो, लेप्मुहाङ खुसी भयो। जहाजको झ्याल खोली
पाखा हेर्यो। पानी सुक्दै गएको देख्यो। पृथ्वी फेरि निक्लिदै गरेको देख्यो।
पहाडपर्वतका टाकुराहरू देखिन लागे। विस्तारविस्तार अरू पर्वत श्रेणीहरू पनि
देखापरे। पानी सुक्दै गयो, विस्तार―विस्तार जहाज यौटा पहाडमा बस्यो।
(९) अब
माछो फेरि बोल्न लाग्यो। लेप्मुहाङ सुन। मैले तिमीलाई जोगाएँ, बचाएँ। अब समुद्रको पानी सुक्यो।
पृथ्वी निक्लियो। अब पशुपक्षी कीटपतङ्ग सबै छाडिदिनु। तिमीहरू पनि तलतल सरेर
बस्नू। म ज्ञानबुद्धि दिन्छु। पृथ्वी फेरि राम्रो बनाउनू। पापले पृथ्वी नष्ट
हुन्छ। धर्मले पृथ्वी अटल रहन्छ। यो पृथ्वीको पापले मानिस वंश, पशुपक्षी, कीटपतङ्ग जम्मै नष्ट भएका हुन्। तिम्रो
धर्म मनले गर्दा तिम्रा छोरानाति, पनाति धेरैधेरै बढ्दै जानेछन्। बालुवाभन्दा
बेसी बढेर जानेछन्। तिमीहरूका वंशले फेरि पृथ्वी भर्नेछन्। यो पृथ्वीमा बस्ने
मानिसहरूले आफ्नो सृष्टिकर्तालाई सम्भि्कनुपर्छ। धर्मको कुरा, धर्मको कामले जगत्मा मानिसहरू दीर्घायु
हुन्छन्। नराम्रो कुरा, नराम्रो
कर्मले पाप लाग्छ र मानिसहरूको आयु घट्छ। चाडै मर्छ। म फेरि भन्छु। लेप्मुहाङ सून।
म परमात्मा हुँ। तिमीलाई जोगाउन बचाउनका लागि माछाको रूप लिएर आएको हुँ। अबदेखि
उसो मानिस जातिले परमात्मा निङ्वाफुमाको सेवा भक्ति गरे बाँची बस्नेछन्। आफ्नो मन
पवित्र राखेर परमात्मा निङ्वाफुमाको खोजी गरे परमात्मा निङ्वाफुमा अवतार फेरेर
आउनेछन्। मद्दत गर्नेछन्। जोगाउनेछन्। बचाउँनेछन्। तिम्रो वंशलाई धर्मको कुरा
सिकाउने, धर्म
उपदेश दिने काम गर्नू। फेरि आउनेछु भनेर माछा अल्पेर गयो।
(१०)
त्यसपछि लेप्मुहाङले पशुपक्षी, कीटपतङ्ग सबै छाडिदियो। उनीहरू पनि तलतल झरेर
बस्नलागे।
(११)
सोधुङ्गेन लेप्मुहाङ जहाजबाट बाहिर निस्की आएर सर्वव्यापी परमात्मा तागेरा
निङ्वाफुमाका नाउँमा पूजा गरी आफूलाई प्रलयबाट बचाएकामा धन्यवाद चढायो।
छोरानातिहरूलाई पनि त्यसरी पूजा गरी सेवाभक्ति गर्नू भनी सिकायो। यस्तो प्रलय भएको
कथा कहिल्यै पनि नबिर्सनू भनी मुन्धुम सिकायो। परमात्मा निङ्वाफुमाको भय मानी सेवा
भक्ति गर्दै बसे बाँचिन्छ भनी अर्ती उपदेश दियो।
(१२)
उसको छोरानातिहरूलाई जङ्गल फाँडफँड गरी भस्मे डढाई अन्न छर्न र भगवान् परमात्मालाई
आशिष माग्ने नियम र भक्ति सिकायो। फेरि अन्न पाकेपछि भगवान्् परमात्मा
निङ्वाफुमाका नाउँमा न्वाँगी पूजा गर्ने नियम सिकायो।
No comments:
Post a Comment