Monday, May 23, 2016

लेप्मुहाङ भजन (ईमानसिं चेमजोङ्ग लिखित)

(१) ओत्, परमात्मा निङ्वाफु माङ मेरो सेवा छ। मेरा हृदयले तपाइँको श्रद्धाभक्ति गर्दैछु। धन्यवाद दिँदैछु। देवादिदेवका अघि भजन गाउँदैछु। तपाइँका पवित्र स्थानमा भक्ति गर्दैछु। तपाइँको अनुग्रह र साँचो वचनलाई धन्यवाद चढाउँदैछु। म जहिले, तहिले तपाइँलाई बिन्ती गर्छु तपाइँले मेरो बिन्ती सुन्नुहुन्छ। तपाइँले ज्ञानबुद्धि दिनुभयो। चनाखो बनाउनुभयो। निङ्वाफुमा माङ! पानीको (जलप्रलय) डुबाउले सबै प्राणी मासे पनि तपाइँले मलाई जोगाउनुभयो। बचाउनुभयो। धन्यवाद छ। हे परमात्मा निङ्वाफु भगवान्! तपाइँको पराक्रम महिमा महान् छ। तपाइँको शक्तिले जुनै कुरा पनि गर्नसक्नु हुन्छ। अब फेरि पृथ्वी राम्रो बनाउनुहोस्।

(२) पशुपक्षी, कीटपतङ्ग, माछा, मानिसहरू धेरै बढाउने काम गर्नुहोस्। तपाइँकै हातले गरेको काम हो । सो काम नछाड्नुहोस्। हे परमात्मा निङ्वाफु! तपाइँले मलाई चुनेर बुझ्नु भएको छ। मेरो उठ्ने, सुत्ने चाल  सबै जान्नुहुन्छ। मेरा अघिपछि सधैँँ रहनुभएको छ। तपाइँको ज्ञान र बुद्धि बुझ्न साह्रै गाह्रो छ। तपाइँले आकाशगङ्गा कसरी बनाउनुभयो म जान्दिन। बेलुकाको युन्छोप्पा (शुक्र) ग्रहले साँझ र बिहानको तान्छोप्पा (शुक्र) ग्रहले बिहान बताउँछ भन्ने कसरी बनाउनुभयो म जान्दिन। अब जगत्मा मानिस जातिलाई कसरी धर्मात्मा बनाउनु म जान्दिन। तपाइँको ज्ञानबुद्धिले चन्द्रसूर्यको बिम्ब बनाउनुभयो। अब मानिस जातिको ज्ञानबुद्धिको बिम्ब पनि बनाइदिनुहोस्।

(३) मानिस जाति बढे ज्ञानबुद्धि पनि बढ्छ। मानिस जाति छैन भने ज्ञानबुद्धिको महिमा हुँदैन। उसको महत्त्व हुँदैन।

(४) पशुपक्षीले ज्ञानबुद्धि माग्दैन। तपाइँको काम अचम्भको छ। मैले बुझेको छु। सर्वशक्तिमान आत्मा तपाइँ मात्र हुनुहुन्छ। पाप नष्ट गर्ने पाप सफा गर्ने तपाइँ मात्र हुनुहुन्छ। हे परमात्मा निङ्वाफु माङ! तपाइँको ज्ञानबुद्धि बिचार्दा साह्रै अपार छ। मानिसको ज्ञानले बुझ्नै सक्तैन। तपाइँ मेरो निङ्वाफुमा ईश्वर निङ्वाफुमा हुनुहुन्छ। साँझबिहान, दिनरात तपाइँको भक्ति गर्छु, दया गर्नुहोस्। नमस्कार छ।


No comments:

Post a Comment