Monday, May 23, 2016

मराउ परेको घर शुद्धगर्ने विधि (ईमानसिं चेम्जोङ लिखित)

मराउ परे लोग्ने मानिस भए चार मास, चार दिन बार्ने। स्वास्नी मानिस भए तीन मास, तीन  दिन  बार्ने। नुन, तेल, मद, मांस खानुहुँदैन। पूजापाठ गर्नुहुँदैन। इष्टमित्रसँग सेवासलाम गर्नुहुँदैन र सबैसँग अलग रहनुपर्छ। आफ्नो बाबुआमाको मराउ भए बाह्र महिना, बाह्र दिन, तेह्र महिना १३ दिन बारी शुद्ध गरे अशुद्ध हट्नेछ। 

मानिस मरे भने मलामी डाकी लास हाल्ने काठको बाकस बनाउनू। लास धुनू। नयाँ कात्रोले बेरी, काठको बाकसभित्र हाली ढकनी लाउनू र चिहान चौतारोमा लगी दबाई चौतारो बनाउनु। लोग्ने मानिस भए चार तला, स्वास्नी मानिस भए तीन तलाको चिहान चौतारो बनाउनु र चिहानमाथि ठाडो ढुङ्गा रोप्नू।

चार दिन, तीन दिन जुठो बार्नु र त्यसपछि इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू र अरू भलाद्मीहरूसँग बातचीत मार्नु (हुन्छ)। 

घरबाहिर भलाद्मीहरू भेला पारी कुल कुटुम्बमध्ये एक भाइ उठाई पढ्न लाउनू। 

अघिदेखि भइआए बमोजिमको रीतअनुसार र शास्त्रको कुरामुताबिक हाम्रो समाजमा पञ्चभलाद्मीका पञ्चबोलीबाटै शुद्ध हुनू भन्ने भगवान्बाट आदेश पाएबमोजिम आज पनि उपस्थित भलापञ्चहरूकै बोलीवचनले जुठोबाट शुद्ध हुनुपरेको छ। तसर्थ आजको दिन, आजको बार मर्ने (नाउँ भन्नुपर्छ) फलाना परलोक भई उसको दाजुभाइ, शाखासन्तान गैह्रलाई जुठो बोकाएर अशुद्ध राखेको छ। आज यिनीहरूले नुनतेल, जाँडमासु तपाइँ भलाद्मीहरूका अघि राखी यो अशुद्धबाट शुद्ध बनाइदिनुहोस् भनी बिन्ती गर्दैछन्।

(अब तपाइँ उपस्थित भलाद्मीहरूले जुठो अशुद्ध फ्याँकी शुद्ध गरी दिने कि नदिने भनी कराउनु पर्छ। उपस्थित भलापञ्च गैहले्र उच्च स्वरले कराइकन भन्नुपर्छहो!! हामीहरू सबैले शुद्ध गरिदिन्छौँ। शुद्ध दिन्छौ। अब शुद्ध भयो। अशुद्ध जुठो फ्याँकी दियौँ।

त्यसो भए अब यो मर्नेको आत्मा उसको जुजु च्याप्जुको आत्मासँग (काखमा) मिल्न गयो। (सबैले गयो है गयो भन्नुपर्छ)। उसले आफ्ना दाजुभाइ, शाखासन्तानलाई केही दुःख नदिई, प्रेतजुनीमा नगई, सुँगुरकुखुराका जुनीमा नगई, सिधा बाटो साँचो बाटो हिँडी आत्मालोकमा पुग्यो। (सबैले कराएर भन्नुपर्छ ― “पुग्यो” “पुग्यो”)। बढेको रूख ढल्नुलाई र जन्म लिएको छुट्नुलाई भनेबमोजिम आजदेखि यो मर्ने मानिस मृत्युलोकबाट छुट्टिएर आत्मालोकमा गयो। (सबैले गयो! गयो!भनी कराउनुपर्छ।)

के गर्नु र! माया मोहब्बतमा परी बाँच्छ कि भनी फेजिक्कुम फेदाङ्मा पुरोहित, बिजुवा, लामा बोलाई, दबाई बुटी गरी, पूजा गरी, बली गरी बचाउन खुब कोसिस गरेको तर चन्द्र सूर्यले लगे। ईश्वरको छोराछोरी रहेछ र ईश्वरले लग्यो। ईश्वरकै बाटो लिएर गयो भनी कराउनुपर्छ। (सबैले गयो! गयो! भनी कराउनुपर्छ।) 

अब यसले जतिकै पाप गरे तापनि यो जिउँदो मानिसदेखि अलग भयो। एक द्वार अलग दुई द्वार अलग तीन द्वार अलग भयो।

यति गरिसकेपछि जुठोमा रहने सबैले शुद्ध भई उपस्थित भलापञ्चहरूलाई ढोगभेट गर्नुपर्छ र शुद्ध हुन्छन्। 

यो शुद्धगर्ने रीत पाखा गर्नुपर्छ। घरभित्र पुरोहितले शास्त्र पढ्नुपर्छ र शान्ति दिनुपर्छ। धूप जलाउनुपर्छ।

ओत्, परमात्मा तागेरा निङ्वाफु माङ नमस्कार छ। यो धूप बाती धर्मशास्त्र शुद्ध पारिदिनुहोस्। ओत्, परमात्मा तागेरा निङ्वाफु नमस्कार छ। यी अशुद्ध हुनेहरूका लागि आकाश, पृथ्वी शुद्ध पारिदिनुहोस्। यिनीहरूको जिउ र आत्मा शुद्ध पारिदिनुहोस्। पवित्र पानी छर्किनुपर्छ। 

यस घरका देव र पितृलाई शुद्ध पारिदिनुहोस्। हे परमात्मा तागेरा निङ्वाफु माङ! नमस्कार छ। यस घरका छोरानाति, शाखासन्तान रहने, बस्ने जम्मैको जिउ र आत्मा शुद्ध पारिदिनुहोेस् पवित्र पानी छर्किनुपर्छ। यिनीहरूलाई शान्ति दिनुहोस्। बचाइराख्नुहोस्। नमस्कार छ।


No comments:

Post a Comment