(१३८)
अघि सुहाम्फेबा र सुसाङ्निनाहरूका कोखबाट धेरै धेरै छोराछोरीहरू भए।
(१३९)
पछिबाट सुसाङ्निनाले साह्रै साह्रै छुल्याइँ कुरा र काम गरेको देखी सुहाम्फेबाको
मन भाँच्चियो र अब छुट्टिएर बसौँ भन्यो।
(१४०)
केटाकेटीहरू पनि बाँड्नुपर्छ भनी चाल्नीमा तिलका गेडा राखी चाल्न लागे।
(१४१)
चाल्नीमा चाल्दा छिँड्मा नछिरी रहेका तिलका दानाहरू गन्ती गरी फेरि त्यति नै
छोराछोरीहरू पनि गन्ती गरी सुहाम्फेबाले उसको भागका केटाकेटी जम्मै माथि धेरै माटो
जमेर खडा भएको जग्गामा लगी राख्यो।
(१४२)
चाल्नीबाट छिरेका तिलका दानाहरू गन्ती गरी फेरि त्यति नै छोराछोरीहरू गन्ती गरी
सुसाङ्निनाले उसका भागका केटाकेटीहरूलाई तल एकै ठाउँ स्थिर भै नबस्ने डुलीडुली
जीविका गर्ने मानिसहरूका गाउँमा लगेर राखी ।
(१४३)
सुसाङ्निना केही लोभी थिई।
(१४४)
उसले त्यो तिलको दाना उसको बेतको बाकसमा लुकाई राखी।
(१४५)
एकपटक उसका शत्रुले यो क्या हो? भनेर त्यो बेतले बुनेको बाकस खोलिदिए।
(१४६)
त्यो बेतले बुनेको बाकस खोलिदिनाले लुकाई राखेका तिलका दानाहरू पोखिए।
(१४७
तिलका दानाहरू कालो सेतो रङ्गका भएकाले ती तिलका दानाहरू टाटेपाङ्ग्रे गोरुहरूमा
परिणत भएर जुध्न लागे।।
(१४८)
तिनीहरूका सिङहरूबाट आगो निस्किएर डडेलो सल्कियो। फेरि (आकाशबाट पठाइएको) पानी
परेर भल चली ठुलो पैरो गयो।
(१४९)
यस्तो डडेलो सल्किएकाले आगलागी भयो। फेरि भल चली पैरो गएकाले गाउँलेहरूको ठुलोे
नोक्सान (बाँधा) भयो।
(१५०)
पाङ्बम्बा (फिरन्ता मानिसहरू) का गाउँमा बस्ने जम्मै मानिसहरू आई उजुर गरे।
(१५१)
बिहान बेलुका नै ती फिरन्ता मानिसहरूका राजाका सामुन्ने ती गाउँलेहरू गई, कराई
यो आगोपानीले बिगारेको नोक्सानी तिर्नैपर्छ भनी उजुर गर्दागर्दा त्यो फिरन्ता
मानिसहरूका राजाले निया गरी फैसला तोकिदियो।
(१५२)
अब यो आगोले बिगारेको, पानीले बिगारेको नोक्सान जम्मै सुसाङ्निनाले
तिर्नुपर्छ।
(१५३)
तिरेन भने सुसाङ्निनाका तन्नेरी तरुनी छोराछोरीहरू जम्मै मारिदिनुपर्छ।
(१५४)
ती फिरन्ता मानिसहरूका गाउँको राजाको यस्तो न्याय सुनेर सुसाङ्निना साह्रै डराई।
(१५५)
उसले उसका छोराछोरीहरूलाई भनी। अब तिनीहरूको आगोले, पानीले बिगारी दिएको नोक्सानको दण्ड तिर्न हामी सक्तैनौँ।
(१५६)
यसकारण तिमीहरू माथि धेरै माटो जमेर खडा भएको जग्गाको गाउँमा गएर तिमीहरूका बाबुको
सामुन्ने बिन्ती गर्नु, निया निसाफ् माग्नु।
(१५७)
यसो भन्नु। शत्रुहरूले लुकाइराखेको तिलको दाना पोखिदिए। पोखिएका तिलका दानाहरू
टाटेपाङ्रे गोरुहरूमा परिणत भई जुझे।
तिनीहरूका सिङबाट आगो निक्ली गाउँमा डडेलो सल्कियो। फेरि आकाशबाट (पठाइएको) पानी
परी ठुलो पैरो गयो। पाङ्बन गाउँ बस्ने मानिसहरूको ठुलोे नोक्सान भयो। तसर्थ जम्मै गाउँलेहरू आई ठुलो उजुर गरे।
(१५८)
फिरन्ता मानिसहरूको गाउँको राजाले पनि उनीहरूको उजुर सुनेर निया निसाफ् गरिदियो।
(१५९)
उसले गाउँलेहरूको नोक्सान भएको दण्ड तिर्नैपर्छ। नतिरेमा सुसाङ्निनाका हुर्केका
तन्नेरी तरुनी छोराछोरी सबै मारिदिने भन्ने फैसला गरेको छ।
(१६०)
यसकारण यो नोक्सानको दण्ड
कसरी तिर्ने? कि दण्ड माफ पाइने कुनै उपाय छ कि भनेर अर्ती माग्नु।
(१६१)
तर उसका बढेका छोराहरूले उसको कुरा मानेनन्। उसको कान्छो छोराले मात्र म जान्छु
भन्यो तर ऊ बालक थियो।
(१६२)
सुसाङ्निनाले (बालक छोरालाई) टिठाएर ऊ पनि उसको कान्छो छोरासँगै माथि सुहाम्फेबा
बस्ने गाउँमा गई।
(१६३)
माथि पुगेपछि सुहाम्फेबाले उसको कान्छो छोरालाई देखेर तिमी कोसँग आयौ भनेर सोधे।
आमासँग आएँ भनी उसले जवाब दियो।
(१६४)
सुहाम्फेबाले सुसाङ्निनालाई तिमी दुई किन यहाँ माथिसम्म आएको भनी सोधे।
(१६५)
सुसाङ्निनाले अघि भएका सबै खबर भनिदिई। फेरि यस्तो नोक्सानीको दण्ड कुन तरिकाले तिर्नुपर्ने हो। होइन
भने यस्तो दण्ड
माफ पाइने कुनै उपाय छ कि भनी सुसाङ्निनाले बिन्ती बिस्तार लाई।
(१६६)
सुहाम्फेबाले यी सबै खबर सुनेर यस्तो नोक्सानीको दण्ड माफ पाउने उपाय छ भनिदियो।
(१६७)
उसले आफ्नो कान्छो छोरालाई बोलाएर अग्निको राप मार्ने मन्त्र सिकाइदियो।
(१६८) त्यसपछि सुसाङ्निना आफ्नो कान्छो छोरासँग फिरन्ता
मानिसहरूका गाउँमा फर्की आई।
(१६९) यस्ता रीतले सुसाङ्निनाको कान्छो छोराले मानिस
जातिका माझमा अग्निको राप मार्ने दस्तुर (परम्परा) निकाले।
No comments:
Post a Comment