Sunday, May 22, 2016

रिस उत्पति मुन्धुम (ईमानसिं चेमजोङ्ग लिखित)

(१२१) अब फुङलोतिमाका कोखमा जुम्ल्याहा छोराछोरीहरू भए। उनीहरूलाई केसिङ्गेन् र तिगेन्जङ्ना भन्थे। जवान भएपछि दुवैजना एकै ठाउँ (सँगै) बस्न लागे।
(१२२) पछिबाट एकपल्ट तिगेन्जङ्नाले साह्रै छुल्याइ मात्र गरेकीले उसको माइती केसिङ्गेन्ले चेलीलाई सदाका निम्ति छोडी (छोडपत्र गरी) दियो।
(१२३) तिगेन्जङ्ना घुम्दैघुम्दै माथि मुनाखाम्ना नाउँ भएको जग्गामा पुगी वहाँ नै बसी।
(१२४) रहँदाबस्दा तिगेन्जङ्नाका कोखमा जुम्ल्याहा छोराहरू भए। उनीहरूलाई केसामी र नाम्सामी भन्थे।
(१२५) जवान भएपछि केसामीले भाइ नाम्सामीलाई डाही गर्न सुरु गर्‍यो। कारण नाम्सामी राम्रो, बाठो र चङ्ख थियो। केसामी लाटो अधबेस्रो, मुर्ख र बलियो थियो। कुराकुरामा केसामीले आफ्नो भाइ नाम्सामीलाई कुट्छु, मार्छु मात्र भन्थ्यो।
(१२६) नाम्सामीले यी सबै कुरा आफ्नी आमालाई भनिदियो। तिगेन्जङ्नाले पनि उसको छोरा नाम्सामीलाई चङ्ख भई बस्नु भनी अर्ती दिई।
(१२७) उसले भनिन्। तिमी दुईजनाका माझमा आँखीडाही भएछ। अब फूलको विजन अलग अलग छुट्याएर रोप्नुपर्छ। तिमी दुईमा पहिले को मरेर छुट्टिने हो हेर्नुपर्छ। केसामीका नाउँमा बाबरी फूल रोप्नु औ नाम्सामीका नाउँमा सेक्मारी फूल रोप्नु।
(१२८) छुट्टिने बेला नाम्सामी सिमलको रूखको साततला हाँगामाथि बस्ने टुङ बनाउनु। सातवटा काँड बनाउनु। एउटा काँड विषालु बनाउनु। सात हाँगाको तलामाथि चढेर बस्नु। केसामी आई मार्छु, खान्छु भन्यो भने कसरी खान्छौ, लौ खाऊ भनी जवाब दिनु। म यहाँ घर बसीबसी तिमीहरूको आयु हेर्छु।
(१२९) बाबरी फूल मरेछ भने केसामी मरेछ, सेक्मारी फूल मरेछ भने नाम्सामी मरेछ भनी थाहा पाउनेछु भनी उनीहरूको आमाले बाचा बाँधी घरमा बसी।
(१३०) पछि एकदिन ती दुई दाजुभाइले सिकार खेल्न जङ्गलमा जाने बन्दोबस्त मिलाए तर नाम्सामीले आफ्नोे दाजुको कुव्यवहार सम्झी ऊ अघिबाटै जङ्गलमा गई यौटा सिमलका रूखमा चढी साततला हाँगामािथ टुङ बनाई बस्यो।
(१३१) उसको दाजु केसामी पछिबाट गई सिमलको फेदमा पुग्यो। उसको भाइ नाम्सामी रूखमाथि बसेको देखी रिसले चुर भई नाम्सामीलाई मार्न भनी बुरुक्क उफ्रियो।
(१३२) नाम्सामीले पनि काँडले हानी केसामीलाई भुइँमा झारिदियो। 
(१३३) केसामी फेरि उफ्रियो। फेरि नाम्सामीको बाण लागी ऊ भुइँमा झर्‍यो।
(१३४) यस्ता प्रकारले केसामी तीन, चार, पाँच, , सातखेप् उफ्रियो। नाम्सामीले पनि काँड हानी सातै खेप केसामीलाई भुइँमा झार्‍यो।
(१३५) केसामी फेरि आठौँखेप् उफ्रिएर जाँदा नाम्सामीले बिषालु काँड हानी उसको दाजु केसामीलाई मार्‍यो।
(१३६) घरमा तिगेनजङ्नाले फूल हेर्दा बाबरी फूल ओइलिएर मरेको देखी औ सेक्मारी फूल ताजा नै रहेको देखेर केसामी छोरो मरेछ भनी थाहा पाई।


(१३७) यस्ता रीतले थालनीमा दाजुभाइका बीच सर्वप्रथम रिस उब्जेको हो । 

No comments:

Post a Comment