Monday, May 23, 2016

विवाह गर्ने विधि (ईमानसिं चेम्जोङ लिखित)

विवाह (लगन) हुनु एक दिनअघि बेहुलीलाई लोकन्तीहरूका साथ उसका (माइती) घरबाट बेहुलाका घरमा ल्याउनुपर्छ। बेहुलाका घरदेखि अलग घरमा राख्नुपर्छ। केटी निकालेका (घरमा ल्याएको) दिन भनीभोज भतेर गर्नुपर्छ। 

विवाहको मध्यदिनपछि नगरा, 48टी, ढोल (च्याब्रुङ), झ्याम्टा, बन्दुक पड्काउँदै बाजा बजाउँदै जन्ती बेहुली बसेका घरमा जानुपर्छ। बेहुली अन्माइकन ल्याई लाम्लक्मा गरी घरभित्र हुल्नुपर्छ। भोजभतेरपछि ठुलो साँझमा विवाहकर्म (लगन) हुन्छ। घरको मूल खाँबोका छेउमा नाङ्लोमा पात बिछ्याई थालमा केराको पातमाथि सिन्दुर र चमेली फूलको माला राख्नुपर्छ। दियोबाती बाल्नुपर्छ। दुई लोहोटा भरिभरि पानीका साथ फूल राख्नुपर्छ। छेउमा बेहुलाबेहुली बस्ने राडी ओछ्याई बेहुलाको देब्रेपट्टि बेहुलीलाई बसाई बेहुलापट्टि एक लोहोटा फूल र बेहुलीपट्टि एक लोहोटा फूल राख्नुपर्छ। धूपबाती बाली फेदाङ्माले पुस्तक पढ्नुपर्छ।

ओत्, सर्वव्यापी परमात्मा तागेरा निङ्वाफु माङ नमस्कार गर्दैछु। अब अघि परमात्मा तागेरा निङ्वाफुमाले आकाश र पृथ्वी सृजन गरी झारजङ्गल, पशुपक्षी बनाउँदा पनि सृष्टि सुहाएन भनी चन्द्रसूर्यजस्तो मानिस जातिको सृजना गर्नुभयो। स्वास्नी मानिसबिना लोग्ने मानिस सुहाएन भनी स्वास्नी मानिसको सृष्टि गर्नुभयो र परमात्मा तागेरा निङ्वाफुमाले ती दुई लोग्ने मानिस र स्वास्नी मानिसलाई बैँस हाली अब दुवै फल्नुफुल्नु र पृथ्वीभरि शाखासन्तान बढाउनु भनी आशीर्वाद दिनुभयो। 

अब अघि सुरुमा भएका मुन्धुम शास्त्रहरू हाम्रा पितापुर्खाहरूले सुनी पुस्तकमा लेखी राखे।

आज यसै शास्त्रमा लेखेबमोजिम तिमी दुईजना पनि एक भयौ। आजदेखि उता तिमी दुईजनाको जिउ दुईवटा भए पनि एक जिउ भयौ। दुई मन भए पनि एक मनका भयौ। तिमी दुईले आपसमा बाझ्ने, जुध्ने काम गर्नुहँुदैन। आपसमा छुल्याइ गर्नुहुँदैन। पाप मन चिताउनु हुँदैन। सरम हुने काम कुरो गर्नुहुँदैन। दुवै लोग्नेस्वास्नीका नाताले मिलेर बस्नू, लोग्नेको कुरा स्वास्नीले मान्नू। स्वास्नीको कुरा लोग्नेले मान्नू र दुवैजना एक मत एक सल्लाहले घर चलाई संसारमा बाँचिन्जेल मिलेर बस्नू। 


अब शास्त्रको यो कुरा तिमी दुवैले मान्छौ कि मान्दैनौ (भनी दुवै बेहुलाबेहुलीहरूलाई पालोपालो गरी सोध्नुपर्छ) बेहुलाबेहुली दुवैले पालोपालो गरी हामी मुन्धुम शास्त्रको यो कुरा मान्छौ भन्नुपर्छ। फेदाङ्मा पुरोहितले एउटा रुपैयाँमा 'लुङ्याङ्' बाचा बाँध्न लाउनुपर्छ। सासूससुरासँग मेलमिलापसाथ एक जहानमा मिली बस्छौँ भन्ने वाचा गराउनुपर्छ। 

No comments:

Post a Comment