Monday, May 23, 2016

सुत्केरी शुद्ध हुने विधि (ईमानसिं चेम्जोङ लिखित)

ओत्, सर्वव्यापी परमात्मा तागेरा निङ्वाफु नमस्कार छ। मानिस जन्मदा, मर्दा अशुद्धबाट कसरी शुद्ध गर्नू, विवाह गर्दा कसरी लगन गर्नू, दुःख बिमारमा कस्तो तरिकाले रोगदेखि मानिसलाई मुक्त गराउनू भनी अघिका पुर्खाहरू परमात्मासँग ज्ञानबुद्धि माग्नु जाँदा जन्म हुँदा, मर्दा, अशुद्ध लागेका मानिसहरूलाई शास्त्र पढी, धूप जलाई फेरि पञ्चभलाद्मीहरू भेला गराई उनीहरूबाट शुद्ध मागी पञ्चबोली पञ्चवेदले शुद्ध हुनु भन्ने अर्ती, उपदेश पाएमुताबिक अब उपयुक्त थितिबमोजिम विधि गरेर शुद्ध हुनेछ। 

सुत्केरी शुद्ध हुने विधि

(१) छोरी जन्मिए तीन दिन, छोरा जन्मिए चार दिन बारेपछि सानु नानीका बज्यै, उसकी फुपू, उसकी छ्यामा, बढीआमाहरूले तेस्रो रात अथवा चारौँ रातको आधारात नाघेपछि त्यो जन्मिएको नानीलाई थाङ्नाले बेरी घरको मूल दैलोका माझमा लगी त्यो नानीलाई तीनपटक त्यो दैलोका भित्रबाहिर हल्लाउंदै यसो भन्नुपर्छ

आजदेखि उता तिमी मानिस जाति भयौ। आजदेखि उता तिमी बोल्नु, मानिसहरूसँग कुरा गर्नु, डुल्नु, बारीमा काम गर्नु, संसार घुम्नु, व्यापार गर्न निक्लनु।यति भनी सकेपछि त्यो नानीलाई मन्तातो पानीले नुहाई दिनु र नयाँ लुगाले बेहेरी नयाँ लुगा फेरिदिनु र नयाँ कोक्रोमा हाल्नु (न्वारान गर्नु)। उसले लगाएको लुगा सबै धोइदिनु, ओछ्यान बद्ली गरिदिनु। त्यसपछि घरभित्रबाहिर सबै लिपी घर सफासुग्घर बनाउनु र धूप जलाई घरभित्रबाहिर सुबास्नाले भराउनु।

(२) त्यसपछि दाजुभाइ, दिदीबहिनी, काका, मामा, इष्टमित्र तथा पुरोहितलाई निमन्त्रणा दिई घरमा भेेला पार्नु।

(३) सबै मानिसहरू भेला भई सकेपछि फेदाङ्माले धूप जलाई सुत्केरी र बालक दुवैको सामुन्ने धूपधुवाँर पार्नु र शुद्ध होस्, शुद्ध होस् भन्दै पवित्र पानी छर्कनु। पुल पनि छर्कंदै शुद्ध होस्, शुद्ध होस् भन्नु। त्यस बेला भेला भएका सबै मानिसहरूले उच्च स्वरले कोक्रो उठ्यो! कोक्रो उठ्यो!! कोक्रो उठ्यो!!! शुद्ध भयो! शुद्ध भयो!! शुद्ध भयो!!! भनी तीनपटक फूल छर्कनु पर्छ।              
 
अब सुत्केरी शुद्ध भयो भनी फेजिकुम फेदाङ्माले शास्त्र पढ्नु पर्छ।

ओत्, सर्वव्यापी परमात्मा तागेरा निङ्वाफु भगवान् नमस्कार छ। अब भलापञ्चहरूका पञ्चबोली पञ्चवाक्यले यो घर शुद्ध भयो। यो घरको सुत्केरी र बालक दुवै शुद्ध भए। 

अब शास्त्रले पनि शुद्ध गरिदेऊ। अब अरू दुःखबिमार, बिलाप र अरूको गालीसराप आँखीडाही सबै पन्साई देऊ। सबै जाऊन् है। अब केही पनि हुँदैन। आमा र नानी दुवैलाई सन्च हुन्छ। दुवैलाई बचाई राख्नुहोस्। उनीहरूको आत्मा शरीरमा सुखशान्ति दिनुहोस्। मनमा आनन्द दिनुहोस्। ओत्, शुद्ध होस्। ओत्, पवित्र होस्।

अब यो घरमा सेवा भक्ति पूजाआजा गर्नुमा केही बाधा रहेन। ओत्, शुद्ध, ओत्, शुद्ध भयो। सुत्केरी शुद्ध भयो। इष्टमित्र शाखासन्तानसँग सेवासलाम, बातचीत खुल्यो। अघि कुनैकुनैसँग बाझीजुझी गालीसराप भई पाप मन रहेको  भए तापनि भलापञ्चहरूका पञ्चबोलीले मनको अशुद्ध दोष र पाप सबै उडाई फ्याँकी दियो र शुद्ध पारी दियो। अब सुत्केरीको मन शरीर सब निङ्वाफुमाले शुद्ध भयो। 

धरतीभित्र यस्को केही दोष, पाप लुकी रहेको छ भनेहे धरतीको मालिक्नी, आकाशको मालिक्नी, आत्माको मालिक्नी, सन्तान दिने सन्तानको मालिक्नी, हंस (पन्छी) दिने हंस (पन्छी)को मालिक्नी, पहाड पर्वतको मालिक, झार जङ्गलको मालिक, वनस्पतिको मालिक्नी। कन्दमूल छर्‍यौ, कन्दमूल (तरुल) बनायौ। फूल रोप्यौ, फलफूल बनायौ। कन्दमूल, तरुलभ्यागुर, फलफूल चढाउनू। चढायौँ। हे  परमात्मा तागेरा निङ्वाफु माङ नमस्कार गर्दैछु। यस्को अशुद्ध पाप जेजस्तो जेभए तापनि माफी दिई (बगाइदिनु) यस्को जिउ आत्मा शुद्ध पारी दिनुहोस्। यस्को तनमन शुद्ध राखी दिनुहोस्। आमा र नानी दुवैलाई सन्च सुविस्तासाथ दीर्घायु राख्नुहोस्। आशिष दिई बचाई राख्नुहोस्। ओत्, शुद्ध होस्, ओत्, शुद्ध होस्। ओत्, परमात्मा नमस्कार छ। 

No comments:

Post a Comment