Monday, May 23, 2016

भाषा नमिलेको मुन्धुम (ईमानसिं चेम्जोङ लिखित)

(१) पछिपछि लेप्मुहाङका शाखासन्तान धेरै धेरै बढे। बोल्ने भाषा यौ६ामात्र थियो। तिनीहरू सबै यौटा ठुलो मैदानको लुङ्धाम् नामक जग्गामा गाउँ बसाई बसेका थिए। तिनीहरू रोडा ढुङ्गाभन्दा बेसी बढेका थिए। बुढापाकाहरू भेला भई पुरानो कथा गर्थे। अघि समुद्र बढेर आई सारा पृथ्वी डुबाएको कथा गर्थे। तिनीहरू साह्रै डराएर बस्थे। फेरि समुद्र बढेर आएछ कि, पृथ्वी फेरि डुब्छ कि भनी बहस गरी बस्थे। फेरि, फेरि डुबाउ भए मानिसहरू डुबी मर्छन्, सब प्राणी नष्ट हुन्छन्, तसर्थ आएँदो डुबाउबाट बच्नलाई उपाय खोज्नुपर्छ भनी कुरा गरी बस्थे।

(२) त्यसपछि तिनीहरूले यौटा सभा गरे। फेरि डुबाउ आए कुन तरिकाले बच्ने विषयमा कुरा भयो। डुबाउ आएपछि सानो पहाड ठुलो पहाडका टुप्पामा चढेर बच्ने उपाय छैन। अब अग्लो पहाडका टाकुराभन्दा अझै अग्लो धरहरा बनाउनुपर्छ। धरहराको टुप्पाले निलो आकाश छुनुपर्छ। धरहराको टुप्पा निलो आकाशसम्म पुग्न सकेन भने धरहराको टुप्पाबाट लिस्नु लाएर निलो आकाशमा जानुपर्छ। त्यसो गर्नाले डुबाए आयोभने बच्न सकिन्छ भनी नाहाङ नामक एउटा ज्ञानी मानिसले सुझाउ दिए। यस कुरालाई सबै मानिसहरूले माने।

(३) अब नाहाङका नेतृत्वमा सबै मानिसहरूले धरहरा बनाउन सुरु गरे। त्यो ठुलो लामो मैदानमा मानिसहरू भेला भए। कोही घडेरी खन्न लागे। कोही ईंटा बनाउन लागे। कोही हिलो मुछ्न लागे। कोही ईंटाको पर्खाल लाउन लागे। कोही पानी ल्याउने भए। कोही ईंटा ल्याउने भए। यसरी धरहरा माथिमाथि पुग्यो।

(४) बोल्ने भाषा एउटा थियो। मतो एउटा थियो। सबै बाँच्ने काम थियो। सबैले मन लाएर काम गर्दा धरहरा चाँडै नै ठुलो, अग्लो भयो। माथिमाथि जाने भरेङ् आठफन्को नौफन्को घुमाउदै बनाउँदै लगे। यस्तो तरिकाले बनाउँदै जाँदाजाँदा धरहरामाथि बादल भए ठाउँसम्म पुग्यो।

धरहरा अझै माथिमाथि अग्ल्याउँदै लगे। मानिसहरूले खुसीले रमाहट गर्दै गीत गाउँदै हाँस्दै खुसी हृदयले काम गर्दै गए।

(५) अब धरहरा माथि निलो आकाशको छेउमा पुग्यो। लिस्नु लाएर निलो आकाशमा पस्नलाई तल पातालबाट अङ्कुसे काठहरूको लिस्नु बनाई माथि ल्याउनुपर्छ भन्ने सल्लाह भयो।

(६) तर त्यस बेला के भयो, भयो, परमात्मा निङ्वाफुमाले के गर्नु भयो, के गर्नु भयो। मानिस जातिमा दुःख आयो। भाषा मिलेन, मन पनि मिलेन। एउटाले अर्कोको कुरा बुझेन। कुरा उल्टासुल्टा भयो । लडाइँझगडा चल्यो। हेला हिनाम उब्जियो। रिसराग उठ्यो। भाषा नमिलेकाले साह्रै नराम्रो भयो। काम राम्रो भएन।

(७) माथि बस्नेहरूले कोङ् हाङ याङ् बोलेभनी कराउंदा तल्ला तलामा बस्नेहरूले कुरा बुझेनन्। ईंटाहरू माथि ल्याऊ भन्दा धरहरा भत्काइदेऊ भनेको सुने। कोहीले लिस्नु बनाएर माथि ल्याऊ भन्दा धरहरा भत्काइदेऊ भनेको सुने।

(८) यसरी भाषा नमिलेकाले आपस्तमा झगडा भयो। रिसको झोकमा परी तल बसेका मानिसहरूले धरहरा भत्काइदिए। धरहरा भत्किएकाले धेरै मानिसहरू थिचिएर मरे।


(९) रहेका (बचेका) मानिसहरू भाषा नमिलेकाले भाषा मिल्नेमिल्नेको दल बनाई अलगअलग आफ्नो आफ्नो गाउँगढ बनाई अलगअलग छुट्टिएर बस्न लागे। 

No comments:

Post a Comment