(१) सुचुवाङ् देशका राजा सुवाङ् हाङबाका दुई भाइ छोराहरू थिए।
(२) उनीहरूलाई छे(से)न्पो हाङ र मुनाफेन् हाङ भन्थे।
(३) मुनाफेन् हाङ, मुक्केगुबा हाङ नाउँले प्रसिद्ध थिए।
(४) त्यसबखत मुदेन―तिब्बत देशमा होरु हाङ राज्य गर्थ्यो।
(५) तिब्बत देशलाई होरुदेश भन्थे।
(६) होरु राजाको धनदौलत प्रशस्त भएकाले ऊ औधि अहङ्कारी तथा निष्ठुरी थियो।
(७) उसका दरबारका खाँबाहरू सुनचाँदीका बुट्टाले भरिएका थिए।
(८) उनको राजसिंहासन पनि सुनचाँदी, हिरामोती तथा इउँहरूले सिङ्गारिएको थियो।
(९) तर होरु राजाले प्रजाहरूलाई साह्रै थिचोमिचो गरी सताएका थियो।
(१०) उसका प्रजाहरूले सर्वव्यापी परमात्मा तागेरा निङ्वाफुमाका अघि प्रार्थना गरे।
(११) तिनीहरूले हात जोडी भगवान्् परमात्मासँग निया―निसाफ मागे।
(१२) सर्वव्यापी परमात्मा तागेरा निङ्वाफुमाले तिनीहरूको बिन्ती, प्रार्थना सुनिदिनुभयो।
(१३) परमात्मा ईश्वर तागेना निङ्वाफुमाले किराती राजा सुवाङ् हाङबालाई सपना दिनुभयो ।
(१४) परमात्माले सपनामा सुवाङ् हाङबा राजालाई भन्नुभयो।
(१५) होरु राजाले उसका प्रजावर्गलाई साह्रै अन्याय गरेकाले उसको प्रजावर्गले ठुलो दुःख भोगिरहेको देखिरहेछु।
(१६) अब तिमीले त्यो राजाका विरुद्ध युद्ध गरी उसलाई नाश गर्नुपर्छ।
(१७) म उसकी राजलक्ष्मी उसका राजसिंहासनबाट हटाइदिनेछु।
(१८) उसको सारा देश तिम्रो हातमा गराइदिनेछु।
(१९) बिहान भएपछि सुवाङ् हाङबा राजा निद्राबाट जागे।
(२०) उनले दुवै राजकुमारहरूलाई सामुन्ने बोलाई यसो भने।
(२१) तिमी दुईजनामध्ये एकजना होरु राजासँग युद्ध गर्न जानुपर्छ।
(२२) तिमी दुवैजना धनुर्बाण लिएर चान हान्न जानु।
(२३) चान हान्दा जितबाजी गर्नेचाहिँ होरु राजासँग युद्ध गर्न जानुपर्छ।
(२४) आफ्नो माननीय पिताको कुरा मानी दुवैजना राजकुमारहरू आफ्नो―आफ्नो धनुर्बाणले सुसज्जित भएर जङ्गलमा चान हान्न गए।
(२५) चान हान्दा मुक्केगुबाले आफ्नो दाजुलाई जित्यो।
(२६) दरबारबाट उनीहरूका पिताले हेर्दा मुक्केगुबाको बाणको ठोक्रोबाट आगोको ज्वाला निक्लिएको देखे।
(२७) उनीहरू दरबार फर्केपछि कसको जितबाजी भयो भनी उनीहरूका पिताले सोधे।
(२८) जेठो दाइले लक्ष्यछेदन गरे भनी मुक्केगुबाले भनिदियो।
(२९) तर जेठो राजकुमार लाज मानी आफ्नो पिताका सामुन्ने गएन।
(३०) उनीहरूका पिताले मुक्केगुबाले चान हान्दा उसको जेठो दाइलाई जितेछ भनी कुरा बुझे।
(३१) त्यसपछि उसले मुक्केगुबालाई आफ्नो सामुन्ने बोलाई उसको धनुर्वाण, ढाल, तरबार दिई होरु राजासँग युद्ध गर्नजानु भनी हुकुम दिए।
(३२) मुक्केगुबा एक्लैले कसरी युद्ध गर्नु भनी उसले परमात्माको भक्ति गर्न लाग्यो।
(३३) उसले जम्लाहात गरी भगवान्् परमात्मासँग शक्ति माग्यो।
(३४) सपनामा परमात्मा निङ्वाफुमाले उसलाई युद्ध गर्नुपर्दा डराउनु पर्दैन। युद्ध गर्दा आपत् परेछ भने भगवान् परमात्मालाई सम्झनु भन्नुभयो।
(३५) युद्धका लागि मद्दत गर्नका लागि युमासाम पठाउँछु। तिमीलाई आपत् परेको बखत उसले तिमीलाई मद्दत गर्नेछन्। उसले तिमीलाई बचाउनेछन्। तिम्रो शत्रु सबै नष्ट गर्नलाई उसैले मद्दत गर्नेछन्। युद्धमा तिम्रो विजय हुनेछ। तिम्रो जय निश्चय हुनेछ भनी प्रोत्साहन दिनुभयो।
(३६) यस्तो सपना देखेर मुक्केगुबा साह्रै खुसी भए।
(३७) बिहान उठेर मुक्केगुबा धनु, बाण, ढाल, तरबार तथा उसको पिताको अग्निचक्र बाणले सुसज्जित भई बायुपङ्खी घोडामा सवार भएर आकाश मार्गबाट डाँडा, खोला, नाघ्दै उत्तरदिशातर्फ उडेर गयो।
(३८) यस्ता रीतले उसले उडेर गएर उत्तर दिशाको एउटा अग्लो पहाडको टुप्पामा बिश्राम गर्यो।
(३९) तर होरुदेश र उसको राजधानी कहाँ छ, कति टाडा छ उसलाई केही पत्ता भएन।
(४०) तसर्थ, मुक्केगुबाले परमात्मा सम्झ्यो। दुई हात जोडी बिन्ती गर्यो।
(४१) तत्काल युमासामले (ईश्वरको आत्मा) वहाँ प्रकट भई के माग्छौ भनी कुरा सोध्नुभयो।
(४२) मुक्केगुबाले भन्यो। युमासाम देवी! होरु हाङको राजधानी कहाँ पर्छ। यहाँबाट कति टाडा छ। ऊ अहिले के गर्दैछ। ऊसँग युद्ध गर्ने उपाय सिकाइदिनुहोस्। ऊसँग युद्ध गर्नलाई मलाई शक्ति दिनुहोस्।
(४३) युमादेवीले भन्नुभयो। होरु राजाको दरबार उत्तर दिशामा छ। यसबेला ऊ उसको सुनचाँदीले बनेको सिंहासनमा आरामसाथ बसिरहेछ। तिमी अब उत्तरपट्टिको एउटा अग्लो पहाडको टाकुरासम्म उडेर गई तिम्रो अग्निचक्र बाणले उत्तरपट्टि ताक्नु र होरु राजाको छाती सम्झी बाण छाड्नु। बाणले भेटे ऊ मर्नेछ। भेटेन भने बाण फर्की आउनेछ भनेर युमादेवी अन्तर्ध्यान हुनुभयो।
(४४)युमादेवीको यस्तो अर्ती सुनी मुक्केगुबा बायुपङ्खी घोडामा सवार भई उत्तर दिशाको एउटा अग्लो पहाडका टाकुरामा गई बस्यो।
(४५) त्यसपछि उसले होरु राजाको छाती सम्झी उत्तरदिशापट्टि आफ्नो अग्निचक्र बाण छोड्योे।
(४६) त्यो अग्निचक्र बाण आकाश थर्काउंदै उडेर गयो।
(४७) आकाशमा के कराउँदैछ भनी होरु रानीले आकाशपट्टि हेरिन्।
(४८) आकाशबाट एउटा अग्निचक्र बाण ठुलो शब्द गर्दै होरु राजाको सिंहासनमाथि झर्दै गरेको होरु रानीले देखिन्।
(४९) यस्तो दृश्य देखी होरु रानीले होरु राजालाई जगाई भनिन् चनाखो भई बस्नुहोस्। आकाशबाट एउटा अग्निचक्र बाण भयङ्कर शब्द गर्दै चक्कर मार्दै सिंहासनको सिधामाथि झर्दैछ।
(५०) तर होरु राजाले उनको कुरामा केही वास्ता राखेनन्।
(५१) उनी चुप लागेर सुतिरहे।
(५२) यसपछि अग्निचक्र बाणले होरु राजालाई लाग्ने भएपछि होरु रानीले उसलाई घचेटी सिंहासनबाट लडाइँदिइन्।
(५३) त्यसैबेला त्यो अग्निचक्र बाण होरु राजा बसेको सिंहासनमा लाग्यो।
(५४) त्यो अग्निचक्र बाणले घुम्दै सिंहासन छेँड्न लाग्योे औ आगो बल्न थाल्योे।
(५५) होरु राजाले यो देखी होरु रानीलाई भने।
(५६) परमात्माले आफूलाई त्यो अग्निचक्र बाण दिनुभएको हो।
(५७) तसर्थ त्यसलाई झकी रेशमको लुगाले बेरी बाकसभित्र राख्नु।
(५८) होरु राजाको आदेशबमोजिम होरु रानीले त्यो अग्निचक्र बाण झकिन्।
(५९) तर त्यो अग्निचक्र बाण घुमेर होरु राजाको बुढीऔँला काटी त्यसलाई साथै लिएर मुक्केगुबा बसेको ठाउँमा फर्कियो।
(६०) वहाँ पुगी मुक्केगुबाको सामुन्ने होरु राजाको बुढीऔँला फ्याँकी ऊ आफै अर्कोपट्टि गिर्यो।
(६१) होरु राजाको बुढीऔँला देखी ऊ मरेनछ भनी थाहा पाई मुक्केगुबाले उसलाई मार्ने युक्ति सम्झन लाग्यो।
(६२) अब ऊ सरासर होरु राजाको दरबारतर्फ बायुपङ्खी घोडामा चढी उडेर गयो।
(६३) होरु राजाको दरबारका छेउमा पुगी उसले सानो चैत्य बनायो। त्यसपछि उसको बायुपङ्खी घोडा लुकाई ऊ आफै तान्त्रिक ज्ञान जाप गरी सानु बालकको रूप लिएर त्यो चैत्यभित्र पस्यो। फेरि चैत्यभित्रबाट ढ्याङ्ग्रो बजेको शब्द गर्यो।
(६४) ढ्याङ्ग्रो बजेको शब्द सुनेर होरु राजाले सिपाहीहरू डाकी त्यो ढ्याङ्ग्रो बजाउने मानिसलाई खोज्न पठाए।
(६५) सिपाहीहरूले एउटा चैत्य भेटेे औ चैत्यभित्र ढ्याङ्ग्रो बजेको सुनी होरु राजालाई रिपोर्ट सुनाइदिए।
(६६) होरु राजाले त्यो चैत्य भत्काउने हुकुम दिए र सिपाहीहरूले त्यो चैत्य भत्काइदिए।
(६७) तिनीहरूले चैत्यभित्र एउटा सानो राम्रो नानी फेला पारेर उसलाई होरु राजाका अघि लगे।
(६८) त्यो नानी साह्रै सुन्दर भएको हुनाले होरु राजाले उसलाई मन पराएर प्रेमसाथ पाल्यो।
(६९) त्यो नानी छिट्टै किशोर भयो औ तन्नेरी भयो।
(७०) परमात्माले माया गरेका हुनाले उसले सपना देख्नथाल्यो।
(७१) सपनामा उसले युमासामलाई देख्यो।
(७२) सपनामा युमासामले उस (मुक्केगुबा)लाई के वर माग्छस् भनी सोध्नुभयो।
(७३) मुक्केगुबाले भने। होरु राजाका सबै सैनिक दल जम्मा गर्दा दस हजार सिपाहीहरू रहेछन्। उसले त्यो दलसँग युद्ध गर्नुपरेको छ। तसर्थ परमात्मा निङ्वाफुमाबाट देवगणका सिपाही बाह्रहजार जम्मा मद्दत चाहिएको छ। तीनपटक गरेर दिनुपर्छ। पहिलोपटक दुई हजार, दोस्रो पटक चार हजार, तेस्रो पटक छ हजार युमासामले ती सिपाहीहरू रणक्षेत्रमा पठाएनुपर्छ। मुक्केगुबा आफूचाहिँ होरु राजाको पल्टनकै अफिसर भएर रणक्षेत्रमा आउनेछ। यस्तो रीतले देवगणले होरु राजाका सिपाही सबै नाश गर्नेछन्।
(७४) युमासामले भन्नुभयो। तिमी रणक्षेत्रमा पुगेपछि परमात्मा निङ्वाफुमालाई सम्भि्कन र छिँवल―छिँवल गरेर देवगणका सेनाहरू प्रकट भई होरु राजाका सेनासँग युद्ध गरी तिनीहरू सबैलाई नाश गर्नेछन्। रणक्षेत्रमा तिम्रो जय हुनेछ। तिम्रो झन्डामा म बस्नेछु भनी युमासाम अल्पी जानुभयो।
(७५) मुक्केगुबाले बिहान चाँडै उठेर होरु राजाका सामुन्ने गएर यसो भन्यो। हजुर, मुक्केगुबा नामक मानिस दुई हजार फौज लिएर हजुरसँग युद्ध गर्न आएँदैछन् भनेको खबर सुने। तसर्थ दुई हजार फौज मलाई दिनुहोस्। म त्यो फौज लगी दुस्मनसँग युद्ध गरी तिनीहरूलाई मारी भगाइदिनेछु।
(७६) यस्तो खबर सुनी होरु राजाले मुक्केगुबाका नेतृत्वमा दुई हजार फौज लगी शत्रुदमन गर्ने हुकुम दियो।
(७७) मुक्केगुबाले होरु राजाका दुई हजार सिपाहीहरू लगी युद्धक्षेत्रमा पुगेपछि उसले भगवान् परमात्मा निङ्वाफुमालाई सम्झ्यो। एक्कासि युमासाम्ले हजारौँ हजार देवगणका सिपाहीहरू ल्याई तिनीहरूसँग भयङ्कर सङ्ग्राम गर्नुभयो।
(७८) देवगणका सिपाहीहरूले होरु राजाका सिपाहीहरू सबै मारी नष्ट गरिदिएपछि उनीहरू सबै अल्पेर गए।
(७९) एक्लो मुक्केगुबा फर्की होरु राजालाई बिन्ती गर्यो। उसले भन्यो हजुर! दुस्मनको फौज जम्मा चारहजार भएकाले रणक्षेत्रमा उनीहरूको विजय भयो। तसर्थ मलाई चारहजार फौज दिनुहोस्, म युद्ध गर्नेछु। होरु राजाले पनि फौज लैजानु भन्ने हुकुम दियो।
(८०) मुक्केगुबाले होरु राजाका चारहजार सिपाहीहरू युद्धक्षेत्रमा लगी भगवान् परमात्मा निङ्वाफुमाको नाउँ स्मरण गर्यो। त्यसैबेला हजारौँ हजार युमासामका देवगणहरू आई तिनीहरू सबैलाई नष्ट गरे।
(८१) मुक्केगुबाले फेरि होरु राजाका अघि गई बिन्ती गर्यो। उसले भन्यो― शत्रु फौज जम्मा ६ हजार आएर सङ्ग्राम गर्दा तिनीहरूकै विजय भयो। तसर्थ मलाई ६ हजार सिपाहीहरू दिनुभयो भने युद्ध गरी शत्रु भगाउनेछु। यो कुरा पत्यारो मानी होरु राजाले जो भएको फौज जम्मै लैजानु भन्ने हुकुम गर्यो।
(८२) मुक्केगुबाले सबै सेना रणक्षेत्रमा लगी भगवान् परमात्माको नाउँ जपना गर्यो। आँखाको झमिक भरमा युमासामका देवगण प्रकट भई होरु राजाका ती सबै सेना मारी नष्ट पारे।
(८३) फेरि होरु राजाका सेनापति र देवगणका सेनापतिका बीच ढाल र तरबारको द्वन्द्वयुद्ध भयो। देवगणको तरबार बिजुलीको भएकाले तिनले होरु राजाका सेनापतिलाई सहजै मारिदिए।
(८४) होरु सेनापतिको नाउँ खेबायङ्बा थियो। उसको मृत्युको खबर सुनी होरु राजा साह्रै डराई आफ्नो दरबार छाडी फलामको गढीमा लुक्न भनेर गयो।
(८५) होरु राजा चित्त दुखेर सुर्ता गर्दै उसको इउँको बिछ्याउनामा ढाल तरबारको सिरानी लाएर सुतिसुती मनमा कुरा सम्भि्कँदा सम्भि्कँदै ऊ निदाइहाल्यो।
(८६) अब मुक्केगुबाले आफै होरु राजासँग युद्ध गर्ने निश्चय गर्यो।
(८७) होरु राजाको फलामको गढी अत्यन्त बलियो थियो। तसर्थ त्यो बलियो गढीभित्र पसी होरु राजासँग तरबार द्वन्द्व गर्नलाई मुक्केगुबाले भगवान् परमात्माको भक्ति गरी मद्दत माग्यो।
(८८) युमासाम आएर के माग्छौ भनेर सोध्नुभयो।
(८९) मुक्केगुबाले होरु राजाको फलामको गढीभित्र पस्ने ज्ञान तथा उसँग द्वन्द्वयुद्ध गर्नलाई शक्ति माग्यो।
(९०) युमासामले ज्ञानबुद्धि दिएर यसो भन्नुभयो― माकुराको रूप लिएर गढीमाथि चढी सानु छिडबाट गढीभित्र पस्नु।
(९१) गढीको माथिबाट हेर्दा होरु राजा समुद्रमा सुतिरहेको देखिन्छ तर त्यो समुद्र हैन। इउँको ओछ्यान देखिएको हो।
(९२) माकुराको जालबाट उँधो झरेर मानिस रूप लिनु र होरु राजालाई जगाई मुक्केगुबा मै हुँ। तरबार द्वन्द्वयुद्ध गर्न उठ्, खडा हो भनी हाँक दिनू। निडरताका साथ लडाइँं गर्नू। म मद्दत गर्नेछु भनी युमासाम अल्पिनुभयो।
(९३) युमासामको अर्तीबमोजिम मुक्केगुबाले माकुराको रूप लिएर फलामको गढी माथिबाट हेर्दा होरु राजालाई समुद्रमाथि सुतिरहेको देख्यो।
(९४) त्यसपछि मुक्केगुबाले माकुराको जालोबाट झरी फेरि मानिसको रूप लिएर हातमा ढाल तरबार लिएर जोडले कराउँदै होरु राजालाई जगायो।
(९५) उसले भन्यो मुक्केगुबा भन्ने मानिस मै हुँ तरबार ढालको युद्ध गर्न खडा हुनु।
(९६) होरु राजा तत्कालै खडा भएर मुक्केगुबासँग द्वन्द्वयुद्ध गर्न लाग्यो।
(९७) मुक्केगुबाको खुट्टा चिप्लिएर लड्यो। होरु राजाले झट्टै उसको केशमा समाती घुँडाले उसको मुटु थिची उसको शिर काट्ने सुर गर्यो।
(९८) मुक्केगुबाले औधि जोडसँग बलगरी होरु राजालाई उल्टै पछारेर घोप्टो पारी उसको शिर काटी मार्यो।
(९९) होरु राजाको टाउको उडेर गई एउटा सिम्सारमा लुकी बस्यो।
(१००) मुक्केगुबाले होरु राजाका छोराहरू पनि सबै मारिदियो।
(१०१) उसले होरु राजाको लुकी रहेको टाउको पनि निकाली टुक्राटुक्रा पारी नष्ट गरिदियो।
(१०२) युमासामको मद्दतले मुक्केगुबाले होरु राजाका छोराहरूका सबै पल्टन नष्ट गरी सकेपछि ऊ आफ्ना पिताका दरबारमा फर्की युद्धमा विजय प्राप्त गरेको सबै खबर पितालाई सुनायो।
(१०३) आफ्नो कान्छो छोरो मुक्केगुबाको यस्तो वीरतापूर्ण कामको खबर सुनी सुवाङ् हाङबा साह्रै खुसी भयो।
(१०४) उसले भन्यो― युमासामले मद्दत गरेकाले तिमीले होरु देशका राजा तथा सेना सबै नष्ट गर्यौ। अब त्यो देशको प्रजाहरूले एउटा राजा खोज्दैछन्। युमासामले दिइन् भने तिमीले वहाँ गई राज्य गर्नुपर्छ औ प्रजावर्गमा युमासाम धर्म सिकाउनुपर्छ।
(१०५) त्यसपछि युमासामले सपनामा उसलाई होरु देशमा जानु र राज गर्नु भन्ने आदेश दिएकाले मुनाफेन् हाङ मुक्केगुबा होरुदेश गई उपाजङ् राजधानी बनाई देशमा शासन गर्यो। उसले वहाँका प्रजाहरूलाई युमाधर्म सिकायो।